दिल्ली– इन्दिरा गान्धी टेक्निकल इन्सटिच्युट फर वुमनकी उपकूलपति डा अमिता देवले आफ्नो विश्वविद्यालयबाट सूचनाप्रविधि सम्बन्धी विषयहरुमा स्नातक तह पूरा गरेका छात्राहरुले सुरुमै महिनाको ८०,००० भारु (नेरु १२८,०००) आम्दानी गर्ने गरेको बताएकी छन्।
दिल्लीस्थित नेपाली दूतावासद्वारा सोमबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै डा देवले आफ्नो विश्वविद्यालयमा झन्डै ५,००० छात्राहरुले अध्ययन गरिरहेको र आफ्नो विश्वविद्यालयका स्नातकहरुले राम्रो आम्दानी गर्नुका साथै आआफ्नो क्षेत्रमा नेतृत्व गरिरहेको बताइन्।
‘मुलुकका सीमाहरू भनेका भावनात्मक कुराहरु मात्र हुन्। हामीले अनुसन्धान, इन्टर्नशिप तथा शिक्षक एवम् विद्यार्थीहरुको आदानप्रदानद्वारा आपसी सहकार्य अगाडी बढाउनुपर्छ,’ उनले भनिन्।
एडब्लुएसको दक्षिण एसिया प्रशिक्षण तथा प्रमाणीकरण विभागका प्रमुख अमीत मेहताले सूचना प्रविधिमा दक्ष जनशक्तिले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने विभिन्न अध्ययनहरुले देखाएको बताए। उनले राम्रो डिजिटल सीप भएका व्यक्तिहरुले अन्य व्यक्तिको तुलनामा ६५ प्रतिशतसम्म बढी आम्दानी गरिरहेको उनले जनाए।
बेलायतमा मुख्यालय भएको कम्पनी जेनेस सलुशनका संस्थापक तथा प्रमुख प्रविधि अधिकृत अन्जनी फुयाँलले डिजिटल क्षेत्रमा नेपालले ठूलो फड्को मारेको र नेपालको सूचना प्रविधि क्षेत्र सफलताको कथा भएको बताए। ‘नेपालका विश्वविद्यालयहरुले क्लाउडमा आधारित नवीनतम पाठ्यक्रमहरु पढाइरहेका छन् र विश्वस्तरका नेपाली स्नातकहरु उत्पादन गरिरहेका छन्। नेपालगन्ज र पोखरामा बसेर नेपाली युवाहरुले विश्वका ठूला कम्पनीहरुमा काम गरिरहेका छन्। सुन्दर प्रकृति तथा पहाडहरुका बीच काम गर्न भारतीय तथा संसारभरिका 'डिजिटल नोम्याडहरुका लागि नेपाल एक सुन्दर गन्तव्य बन्दै गएको छ,’ उनले भने।
उक्त समारोहलाई सम्बोधन गर्दै राजदूत डा शंकर शर्माले नेपाल आकर्षक लगानी गन्तव्यको रुपमा रहेको बताए। ‘भारतीय लगानीकर्ताहरुका लागि न भाषाको समस्या छ, न यातायात खर्च नै बढी छ। नेपालको मौसम राम्रो छ र नेपाल सरकारले थुप्रै कर छुट पनि दिएको छ। नेपालमा अंग्रेजी बोल्न सक्ने दक्ष, युवा जनशक्तिको संख्या बढ्दै गएको छ र सरकारले विदेशी लगानीकर्ताहरुलाई विभिन्न कर छुट दिनुका साथै श्रम कानूनमा पनि सुधार गरेको छ,’ उनले भने।
राजदूत डा शर्माले नेपाल सरकारले 'ड्राइ पोर्ट' साथै १६ ओटा नयाँ विशेष आर्थिक क्षेत्र निर्माण गर्न लागेको जानकारी दिए। उनले नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरुमा ५० करोड मानिसहरु बसोबास गर्ने र भारत तथा नेपालबीच दोहोरो कर छुट सम्बन्धी सन्धि भएकाले पनि भारतीय लगानीकर्ताहरुका लागि नेपाल आकर्षक गन्तव्यको रुपमा रहेको बताए।
समझदारीपत्रमा हस्ताक्षर
उक्त समारोहमा दिल्लीस्थित इन्दिरा गान्धी टेक्निकल इन्सटिच्युट फर वुमन, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान तथा काठमाडौंस्थित जेनेस एकेडेमीबीच आपसी सहकार्य, अनुसन्धान तथा शिक्षक, विद्यार्थीहरुको आदानप्रदान सम्बन्धी सहकार्यसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो।
इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक प्राध्यापक डा बसन्त जोशीले प्राविधिक शिक्षाको क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य गर्न पाउँदा अनुसन्धान तथा पठनपाठनको क्षेत्रमा ठूलो सहयोग पुग्ने बताए। आफ्नो धन्यवाद मन्तव्यमा दिल्लीस्थित नेपाली दूतावासकी मिनिस्टर काउन्सिलर निता पोख्रेल अर्यालले भारतीय प्रविधि उद्यमी तथा व्यवसायीहरुलाई नेपालमा व्यवसाय विस्तार गर्न आग्रह गरिन्।
उक्त कार्यक्रम जेनेस सलुशन तथा नास आइटीको सहयोगमा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।