काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (कागबेनी) बाढीबाट भएको क्षतिको मंगलबार स्थलगत अवलोकन गरेका छन्। अविरल वर्षासँगै साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले घर, खेत, सार्वजनिक एवम् व्यापारीक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपंक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्धस्थल, खानेपानी र सिंचाइ क्षेत्रमा क्षति पुर्याएको थियो।
नगद तथा भौतिक वस्तुसहित अर्बौंको क्षति गरेपछि तत्काल राहतमा वृद्धि र कागबेनी जस्तो ऐतिहासिक तीर्थस्थलको दीर्घकालीन पुनर्निर्माणको प्रतिबद्धता समेत गृहमन्त्री श्रेष्ठले जनाएका छन्। समयमै बाढीको सूचना पाएपछि यहाँ कुनै मानवीय क्षति भने भएन।

क्षतिको अवलोकनपछि प्रभावितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले तत्कालीन प्राथमिक आवश्यकलाई समाधान गर्दै प्राविधिक र योजनाविद् अध्ययन आधारित निष्कर्ष निकालेर कागबेनीको पुनर्निर्माण गर्ने बताए। रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने उनको भनाइ थियो। अवलोकनका क्रममा उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिन समेत स्थानीय प्रशासनलाई निर्देशन दिए।
संघीय, प्रदेश र स्थानीय सरकार वा संघसंस्थामार्फत सामान्य तत्कालीन राहत पुगे पनि त्यो पर्याप्त, व्यवस्थित र एकद्वार हुन नसकेको जनप्रतिनिधि तथा स्थानीयको गुनासो थियो। जनताको यस्तो दु:खबाट आफू पनि उत्तिकै दुखित भएको र संघीय, प्रदेश र स्थानीय सरकारको उचित समन्वयमा आधारभूत सेवा, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाइने गृहमन्त्री श्रेषले बताए।
यसैगरी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले मंगलबार नै पार्टीका स्थानीय नेताकार्यकर्तासँग समेत मुस्ताङमा संक्षिप्त भेटघाट गरेका छन्। तीन महिने ‘जनतासँग माओवादी’ अभियानले पार्टीमा उत्साह पैदा गरेको र सरकारले सुशासनका पक्षमा थालेका कामले जनतामा समेत उत्साह पैदा गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।