सिन्धुली– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाको फुन्टिवाङमा बसेको तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय समिति बैठक स्मरण गरेका छन्।
सिन्धुलीमा आयोजित १४ औं विशाल–कुमार स्मृति कार्यक्रममा बोल्दै प्रचण्डले भने– 'बैठकको अन्त्यतिर कमरेड विशालले पार्टी र नेतृत्वको बारेमा, खासगरी मेरो बारेमा भावपूर्ण ढंगले आफ्नो प्रस्तुति गर्नुभएको थियो– यदि प्रचण्ड दुई दिनमात्रै बिरामी हुने हो भने यो युद्ध के होला? यो देश के होला? यो पार्टी के होला? भन्ने उहाँको प्रस्तुति थियो।'
'पार्टीभित्र बैचारिक छलफल हुनु स्वभाविक थियो। अन्तर्संघर्ष पनि चलेको थियो। राजीनामा दिने र फिर्ता लिने क्रम पनि चलेको थियो', प्रचण्डले भने, 'विशाल कुमारको बारेमा भ्रम थियो, अन्तर्संघर्षको क्रममा उनी पार्टीको हेडक्वार्टरको पक्षमा हुन् कि होइन भन्ने भ्रम थियो। तर त्यो भ्रम अन्त्य भयो।'
'विशालको प्रस्तुति पछि अन्तर्संघर्षमा रहेका साथीहरुलाई नमीठो पनि लाग्यो होला', प्रचण्डले भने, 'तर त्यसले पार्टीको केन्द्रीय समिति बैठकलाई उर्जा थप्यो।'
माओवादी संघर्षका क्रममा फुन्टिवाङ बैठक निकै चर्चित छ। प्रचण्ड र बाबुरामबीच अन्तर्संघर्ष तिब्र भएको बेलामा बसेको त्यो बैठकले राष्ट्रियतालाई केन्द्रमा राखेको थियो।
अहिलेको उपलब्धीहरु निकै दूरगामी, ऐतिहासिक र युगान्तकारी महत्त्वका भएका प्रचण्डले बताए।
'अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं र राजनीतिक स्थिरता सहित विकास र समृद्धिको नयाँ यात्रातिर अगाडि बढ्दैछौं', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।