काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
आज (सोमबार) बिहानसम्म गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन् तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन् तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।