काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले यस वर्ष १ लाख हेक्टर जमिनमा चैते धान लगाउने गरी तयारी भइरहेको बताएका छन्। सिँचाइको समस्याको समाधान गर्दै चैते धानको खेती हुने क्षेत्रफल बढाउने गरी सरकारले तयारी गरिरहेको मन्त्री भुसालको भनाइ छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताए। कृषि नेपालको लागि मेरुदण्ड भएको उल्लेख गर्दै उनले कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताए।
अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिँचाइको सुविधान पुग्न नसकेको मन्त्री भुसालले उल्लेख गरे। ४८ प्रतिशत जमिन वर्षा याममा मात्रै सिँचाइ हुने र १८ प्रतिशत जमिन मात्रै सधैँभर सिँचाइ हुने अवस्था रहेको बताउँदै मन्त्री भुसालले सिँचाइको समस्या समाधान गर्नु नै पहिलो काम रहेको बताए।
मन्त्री भुसालले भने– ‘कृषि क्षेत्र हाम्रो मुलुकको एउटा मेरुदण्ड हो । वास्तवमा अहिले हामीले उत्पादन वृद्धि गर्नुपर्छ, निर्यात वृद्धि र आयात प्रतिस्थापन गर्ने हो भने कृषि उत्पादन वृद्धि गरेर नै देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ। कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको हो। अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन सकेको छैन। ४८ प्रतिशत छ त्यो पनि वर्षा याममा मात्रै, नत्र सधैँभर सिँचाइ हुने क्षेत्र भनेको १८ प्रतिशत, त्यसैले यो समस्या छ। ती समस्याको क्रमशः समाधान गर्दै जानुपर्छ। यस वर्ष नै हामीले चैते धान १ लाख हेक्टर क्षेत्रफलमा लगाउनुपर्छ र सक्नुपर्छ भनेर सुरु गरेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।