काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसालले लम्पी स्किन प्रभावित किसानलाई राहत उपलब्ध गराउने मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको स्वीकार गरेका छन्।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भुसालले छलफलका क्रममा प्रक्रिया नमिल्दा ढिलाइ भएको बताए। रोग नियन्त्रणका लागि भने काम भइरहेको उनको भनाइ छ।
‘मन्त्रालयबाट पठाइएको प्रस्ताव अर्थ र गृह मन्त्रालयमा प्रक्रियामा रहेको र प्रक्रियागत रुपमा ढिलाइ भएकै हो। अब छिट्टै पास हुनेछ। किसानले राहत पाउनेछन्,’ मन्त्री भुसालले भने।
यतिबेला लम्पी स्किन महामारी घट्दै गएको र सरकारले निःशुल्क खोप उपलब्ध गराइरहेको मन्त्री भुसालले दाबी गरे।
‘रोग थपिने क्रममा छैन। घट्ने क्रममा छ। यो रोग नियन्त्रणका लागि अर्को वर्षका लागि समेत तयारी भइरहेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।