काठमाडौं– काठमाडौंबाट जनकपुर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ। जनकपुर विमानस्थलमा अवतरणको तयारी गरिँदा जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको बुद्ध एयरले जनाएको छ।
काठमाडौं जनकपुरको उडान नम्बर ५०१ को नाइन एन–एजेओ जहाजमा प्राविधिक समस्या देखिएको बुद्ध एयरले जनाएको छ। उक्त जहाजमा नेकपा एमालेका नेताहरु समेत सवार थिए।
सिरहामा हुने केन्द्रीय सचिवालयको बैठकमा सहभागी हुन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायत नेताहरु जनकपुर जाँदै थिए।
जनकपुर विमानस्थलमा अवतरणको तयारी गरिए पनि प्राविधिक समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता भएको थियो। काठमाडौंमा सुरक्षित अवतरणपछि उक्त जहाजका यात्रुलाई अर्को जहाजमार्फत् जनकपुर पठाइएको बुद्ध एयरले जानकारी दिएको छ।
जनकपुरबाट काठमाडौं फर्किएको जहाजबारे अहिले प्राविधिक टिमले अध्ययन गरिरहेको बुद्ध एयरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।