लहान– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सिरहामा बस्ने भएको छ। एमाले सचिवालयको बैठक बुधबार सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्ने भएको हो।
नेकपा एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै बुधबार पार्टीको सचिवालय बैठक बस्न लागेको हो। बिहान ११:३० बजे बस्ने बैठककको सबै तयारी पूरा भएको जनाइएको छ।
यसअघि यही भदौ ९ गतेका लागि तय भएको सचिवालय बैठक निरन्तरको वर्षाका कारण बुधबारका लागि सारिएको थियो। सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले)ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो। सो महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो। त्यसको करिब ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बस्न लागेको छ।
‘चौथो महाधिवेशन नीति, कार्यक्रम र नेतृत्वका हिसाबले अग्रगामी रहेको थियो,’ सचिव भट्टराईले भने, ‘एमालेको विचार निर्माणमा त्यो महाधिवेशन ऐतिहासिक थियो। त्यसैको सम्झनास्वरुप बैठक यही स्थानमा तय गरिएको हो।’
सचिव भट्टराईले यस ठाउँको भौतिक पूर्वाधारको विकास, नेपालको कम्युनिस्ट आन्दोलनको अध्ययन केन्द्र, कम्युनिस्ट पार्टी स्थापनाको ७५वर्ष पुगेको उपलक्षमा आज नै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट कम्युनिस्ट आन्दोलनको स्तम्भ सोही ठाउँमा शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिए। उक्त स्थानलाई वैचारिक तथा सैद्धान्तिक पर्यटकस्थलका रूपमा विकास गरिने भट्टराईको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।