काठमाडौं– ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिएपछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी दिनेश आचार्य हङकङ गएका छन्।
एसएसपी आचार्यलाई मंगलबार रातिको उडानमार्फत् हङकङ पठाइएको नेपाल प्रहरी प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए।
अनुसन्धानका लागि प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले थप अनुसन्धान तथा सूचना संकलनका लागि भन्दै एसएसपी आचार्यलाई हङकङ पठाएको छ।
गएको साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीले पाएको थियो। सुन प्रकरणमा केही सूचना र जानकारी भए उपलब्ध गराइदिन भन्दै सीआईबीले यही भदौ ८ गते सार्वजनिक सूचना नै जारी गरेको थियो।
सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिक समेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ। सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
दलहरुले भने सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने सहमति गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समय संसद् अवरुद्ध गरेपछि सत्ता पक्षीय दलहरु उच्चस्तरीय समिति गठनका लागि सहमत भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।