काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङको नेपाली नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
तिब्बती मूलका बेल्जियन नागरिक छिरिङले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट लिएको नेपाली नागरिकताबारे छानबिनका लागि गृहले समिति गठन गरेको हो।
गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले नेपाललाइभलाई जानकारी दिए।
उनले २०७४ पुस २० गते नेपाली नागरिकता लिएका थिए। ठमेलस्थित होटल भियानाका सञ्चालकसमेत रहेका दावालाई ६० किलो सुन तस्करीमा संलग्न देखिएको भन्दै पक्राउ गरिएको थियो। साथै अन्य चिनियाँ नागरिकले पनि लिएको नेपाली नागरिकताबारे छानबिन समितिले अनुसन्धान गर्ने प्रवक्ता भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।