काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले संयुक्त सैन्य अभ्यास गर्ने बिम्स्टेक शिखर सम्मेलनको निर्णयप्रति आपत्ति जनाएका छन्।
पूर्व गृहमन्त्री समेत रहेका नेता रावलले बिम्स्टेक सदस्य राष्ट्रहरुसँग संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी हुनुपर्ने औचित्य पुष्टि गर्न पनि सरकारसँग माग गरे।
मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र र नेपाली जनताको हितमा नहुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुने बिम्स्टेक शिखर सम्मेलनको निर्णय आफूलाई मान्य नहुने स्पष्ट पारे। नेता रावलले बिम्स्टेक सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णयबारे नेपाली जनतालाई चित्तबुझ्दो जवाफ दिन पनि सरकारको ध्यानाकर्षण गराए।
कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले उल्लेख गर्न लायक कुनै पनि काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले दुई तिहाई बहुमत प्राप्त सरकारले विपक्ष र प्रेसलाई पेल्ने काम गर्नु दुःखद भएको टिप्पणी पनि गरे।
नेता रिजालले काम गर्ने सबैभन्दा अनुकूल वातावरण हुँदा पनि सरकारले काम गर्न नसकेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।