काठमाडौं- चीनले आफ्नो मानक नक्साको नयाँ संस्करण जारी गरेको छ। सोमबार जारी उक्त नक्सालाई चीनले आफ्नो ‘प्रचलित नक्सा’ बताएको छ। चीनले जारी गरेको नयाँ नक्सामा अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सी समेटिएको छ।
चिनियाँ अखबार ग्लोबल टाइम्सले चीनले चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सिमानाको रेखांकनका आधारमा उक्त नक्सा तयार पारेको बताएको छ।
चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा मान्दै आएको छ। अरुणाचलको ९० हजार वर्ग किलोमिटर भूभाग आफ्नो भएको दाबी चीनले गर्दै आएको छ। यता भारतले भने अरुणाचल प्रदेशलाई आफ्नो अभिन्न क्षेत्र मान्ने गरेको छ। भारतले आफ्नो ३८ हजार वर्गकिलोमिटर जमिनले चीनले अवैध रुपमा कब्जा गरेको आरोप लगाउँदै आएको छ।
हालै दक्षिण अफ्रिकामा सम्पन्न ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) शिखर सम्मेलनका क्रममा केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटमा सीमा विवादबारे कुरा भएको थियो। उक्त भेटमा सीमा विवाद टुंग्याउने विषयमा छलफल भएको र जी-२० सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी भारत भ्रमण जानुअघि नै केही सहमति हुनसक्ने दाबी गरिएको थियो।
तर भेट भएको एक साता पुग्दैगर्दा चीनले उक्त नक्सा सार्वजनिक गरेको हो।
चीनले २०२१ मा मात्रै अरुणाचलका १५ स्थानका नाम परिवर्तन गर्ने प्रस्ताव पेस गरेको थियो। यही सिमा विवादका कारण दुई देशबीच राम्रो सम्बन्ध छैन।
चीनले जारी गरेको नयाँ नक्सा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।