काठमाडौं– नेपाल भ्रमणमा रहेको स्वीडिस सांसदहरुको एक टोलीसँग नेपाल पर्यटन बोर्डले नेपालका लागि युरोपियन आकाश खोल्न आग्रह गरेको छ।
बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको कारण नेपालको युरोपसँग सिधा उडान हुन नसकेको र यसको प्रत्यक्ष प्रभाव पर्यटनमा परेकोले त्यसबारेमा पहल गरिदिन सांसदहरुलाई आग्रह गरेका हुन्।
‘नेपाल नेचर, कल्चर र एडभेन्चरका लागि विश्वभरकै पर्यटकका लागि आर्कषणको केन्द्र हो। धेरै युरोपियनहरु नेपालको साहसिक पर्यटनमा रमाउन नेपाल आउन चाहन्छन्। तर सिधा हवाई सम्पर्कको अभावका कारण त्यो हुन सकिरहेको छैन। हवाई सुरक्षाबारे नेपाल सरकार गम्भीर रहेर आफ्ना काम गरिरहेको सन्दर्भमा युरोपियन आकाशको प्रतिबन्ध हटाउन यहाँहरुको भूमिका महत्त्वपूर्ण रहन सक्छ। त्यसो भयो भने स्वीडेनका तर्फबाट नेपालीका लागि ठूलो उपहार हुने छ,’ रेग्मीलाई उदृत गर्दै पर्यटन बोर्डले जनाएको छ।
जवाफमा स्वीडेनका सांसद मारिया स्टोकाउजले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको विषयलाई आफूहरुले गम्भीर रुपमा लिएको उल्लेख गर्दै यस विषयमा आफ्नो तर्फबाट थप पहल गर्ने आवश्वासन दिइन्। यस्तै सांसदद्वय एलेक्जेन्ड्रा एनेष्ट्रिल, सोफिया ल्याभेन्गेजले नेपालको पर्यटन विकासका लागि स्वीडेन सकारात्मक रहेको उल्लेख गर्दै सहकार्यका क्षेत्रहरु पहिचान गरी आवश्यक पहल गर्ने पनि बताएको बोर्डको सचिवालयले जनाएको छ।
पर्यटनबोर्डका अनुसार स्वीडेनबाट सन् २०१९ मा करिब ४० हजार पर्यटकले नेपाल भ्रमण गरेको थिए भने सन् २०२३ को जनवरीदेखि जुलाईसम्म १४ हजार पर्यटकले नेपाल भ्रमण गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।