काठमाडौं- कलाकार सारुक ताम्राकारको आत्महत्या प्रकरणमा अभिनेत्री नम्रता श्रेष्ठले केही अनलाइन मिडिया, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही रुपमा आफूविरुद्ध लागेको बताएकी छन्। प्रहरीमा बयान दिएपश्चात् घटना हुँदा सारुकको अन्तिम फिल्म ‘ह्यासट्याग माया’मा सँगै काम गरिरहेकी श्रेष्ठले महिला भएकै कारण आफूमाथि यति धेरै आक्रमण भएको बताइन्।
उनले ‘आत्महत्या’जस्तो संवेदनशील विषयलाई ‘ग्लोरिफाइ’ गर्न उचित नहुने बताउँदै केही अनलाइन मिडियाहरूले ‘भ्युज’का लागि कपोकल्पित एकतर्फी रुपमा प्रकाशन गरेको बताएकी छन्।
उक्त आत्महत्या प्रकरणको घटना केही पुरानो भए पनि परिवारले ‘अनुसन्धानमा प्रभावित पर्छ’ भनेर रोकेपछि आफू मौन बसेको पनि बताएकी छन्। तर पनि तर केही मुठ्ठीभरका मान्छेहरू हात धोएर मिडियामा लागेको भन्दै उलने असन्तुष्टि जाहेर गरेकी छन्।
नेपाली चलचित्र 'ह्यासट्याग माया’ छायांकनको क्रममा सोही चलचित्रका कलाकार ताम्राकारले आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरी निधन भएको खबरले दुखी तुल्याएको उनले बताएकी छन्। सारुक सहयोगी भावना भएका मिलनसार व्यक्ति भएको भन्दै उनले घटनाले आफूहरूलाई अचम्मित तुल्याएको बताएकी छन्।
आफूमाथि पूर्वाग्रही तरिकाले केही अनलाइन मिडिया, सिनेकर्मी र पदाधिकारीहरू लागेको आफू, आफ्नो परिवार र कानुनी टिमले नजिकबाट नियालेको बताउँदै उनले आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल गरेकी छन्। ‘एक जना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला सायद! किनकि, यो पुरुषप्रधान समाज हो। ठीकै छ ..मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु, म एक महिला मात्र नभएर कलाकार पनि हो,’ उनले भनेकी छन्।
विभिन्न मिडियाले आफू हङकङतिर गएको झूटो प्रचार गरेको भन्दै उनले आपत्ति जनाएकी छन्। घर र अस्पतालबााहेक आफू कतै नगएको पनि उनले जानकारी दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।