काठमाडौं- एसियन क्रिकेट काउन्सिल (एसिसी) कप छनोटमा नेपाल असफल भएको छ। अन्तिम खेलमा परिचित प्रतिद्वन्द्वी हङकङसँग पराजित भएसँगै नेपाल छनोटबाट बाहिरिएको हो।
नेपाल आज लिग चरणमा अन्तिम खेलमा हङकङसँग ३ विकेटले पराजित भएको हो। नेपालले दिएको ९६ रनको लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।
हङकङका लागि कप्तान अंशमान रथले ५२ रन बनाए। हङकङलाई रोक्ने प्रयासमा नेपालका बलर सन्दीप लामिछानले एक्लै ५ विकेट लिए। तर ब्याटिङमा जम्न नसक्दा विपक्षीले लक्ष्य भेट्टाउन सफल भएको हो।
नेपाल चौथो हुँदै एसिया छनोटको अवसर गुमाएको छ।
मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपालले जित्नैपर्ने दबाब थियो। यसअघिका ४ खेलमा २ मा जित र २ मा हार बेहोरेको नेपाल आफ्नो अन्तिम खेल उत्कृष्ट खेल्ने लक्ष्यका साथ मैदान उत्रिए पनि त्यसमा खरो रुपमा उत्रन सकेन।
एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल मलेसियामा भएको आफ्नो पहिलो छनोट खेलमा ओमानसँग अप्रत्यासित हार बेहोरेको थियो।
५० ओभरको खेलमा नेपालले ३७.५ ओभरमात्र खेल्न सक्यो।
आजको खेलमा आरिफ शेखले सर्वाधिक १८ रन बनाएका थिए। कप्तान पारस खड्का १४, अनिल साह १५, ज्ञानेन्द्र मल्ल १२ र बसन्त रेग्मीले १५ रन बनाए। सुवास खकुरेल, र ललितजङ्ग राजवंशीले खाताका कुनै पनि रन जोड्न सकेनन्।
नेपालको इनिङ ध्वस्त पार्ने क्रममा हङकङका इशास खानले चार विकेट लिए। ७ ओभर बलिङ गरेका उनले १५ रन दिँदै नेपालका ४ खेलाडीलाई पभेलियनको बाटो देखाए। अजिज खान र तनभिर अफजल समान २/२ विकेट लिएका थिए भने नदिम अहमद र इशान नवाजले समान १/१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।