न्युयोर्क– विश्व नम्बर २ टेनिस खेलाडी रोजर फेडेरर युएस ओपनको चौथो चरणबाटै बाहिरिएका छन्। मंगलबार न्युयोर्कमा भएको खेलमा फेडेरर विश्व टेनिस वरीयताको ५५औं स्थानमा रहेका अस्ट्रेलियाली जोन मिलम्यानसँग ३–६, ७–५, ७–६ (९–७), ७–६ (७–३)ले पराजित भएका हुन्।
छैटौं पटक युएस ओपन जित्ने दाउमा रहेका फेडेररले मिलम्यानसँग ३ घन्टा ३८ मिनेट कोर्टमा संघर्ष गरे पनि हार टार्न सकेनन्। युएस ओपनमा विश्व वरीयताको ५०औँ स्थानभन्दा पछि रहेका खेलाडीबाट फेडेरर पराजित भएको यो पहिलो पटक हो।
यसअघि फेडेररले सन् २००४ देखि २००८ सम्म लगातार ५ पटक युएस ओपनको उपाधि हात पारेका थिए।
हालसम्म २० पटक ग्रान्डस्लाम जितिसकेका फेडेररले पहिलो सेटमा सजिलै जित हात पारे पनि बाँकी सेटमा टिक्न नसक्दा पराजित भए। तेस्रो र चौथो सेटमा ‘सेट पोइन्ट्स’का आधारमा जित निकाल्दै मिलम्यानले इतिहास बनाएका हुन्।
मिलम्यानले हालसम्म विश्व वरीयताका शीर्ष १० खेलाडीलाई हराउन सकेका थिएनन्। तर फेडेररसँगको खेल अन्तर्गत चौथो सेटमा लगातार ५ ‘म्याच पोइन्ट्स’ जोड्दै उनले विश्वका सर्वकालीन खेलाडीविरुद्ध जित दर्ता गराएका हुन्।
बुधबार हुने क्वार्टरफाइनलमा अब मिलम्यानले दुई पटकका युएस ओपन च्याम्पियन नोभाक जोकोभिकसँग प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।