काठमाडौं– दिउँसोको दुई बजे। सिमसिम पानीले सर्वोच्च अदालतको परिसर भिजाइरहेको थियो। केही व्यक्तिहरू सवोच्च अगाडि ओंत लागिरहेका थिए। एक दुई जना अदालतको प्रवेशद्वारनिर कसैको पर्खाइमा बसिरहेझैं देखिन्थे।
दुर्गाभक्त श्रेष्ठ कानुन व्यवसायीलाई पर्खिरहेका छन्। ‘कतिबेला आउने हुन् खाजा खाएर,’ उनी मसिनो स्वरमा भन्दै थिए।
२१ साउनमा उनको पेसी थियो। ७ नम्बरमा उनको त पालो थियो। तर पेसीको सुनुवाइ भएन। पहिलै उनकोे मुद्दा हेरिसकेका न्यायाधीश परेकाले सुनुवाइ नभएको रहेछ।
कानुन व्यवसायी सपना प्रधान मल्ल, बम कुमार श्रेष्ठ र कुमार रेग्मीले पहिला नै सो मुद्दा हेरिसकेका रहेछन्। उनका दुर्गाभक्ताका अनुसार मुद्दा फेरि हेर्न नमिल्ने रहेछ।
‘एउटै विषयवस्तुमा पटक–पटक एउटै कानुन व्यवसायीले मुद्दा हेर्न नमिल्ने व्यवस्था रहेछ। त्यसैले आज सुनुवाइ भएन,’ उनले सुनाए, ‘आज फाइल पनि तल आएको रहेनछ। आएपछि केहिबेरमा तारिख वा पेसी दिएर ३ महिना पछि बोलाउँछ रे।’
ललितपुरको पाटनबाट उनी १० बजे सर्वोच्च आइपुगेका थिए। ४ घण्टासम्म काम नबन्दा उनी थकित देखिन्थे।
‘७७ जिल्लाबाट पीडितहरू आउँछन्। कति त तीन दिदन लगाएर पनि आउँछन्। तर काम बन्दैन। रोएर जान्छन्। न्याय नपाएपछि क्षतिपूर्ति कसले दिन्छ,’ दुर्गाभक्त दुखेसो गर्छन्।
दुर्गाभक्त छिमेकीले आफ्नो बाजेको जग्गा हडपेपछि अदालत धाउन थालेका रहेछन्।
विसं १९७६ सालतिर उनका बाजे पाटन छोडेर थानकोटमा बस्न गए। बाजेका पाँच दाजुभाइ। बाजेका अरु तीन दाजुभाइ बसाइँ सरेर कोही धुनीबेसी, कोही नुवाकोट त कोही गोरखा बस्न गए। बाजेका जेठा दाजु भने पाटनमै बसेका थिए। बसाइँ सरेर गएका कुनै दाजुभाइ फर्किएर पाटन आएनन्। पाटनमा थुप्रै जमिन थियो। त्यो जमिन जेठा बाजेले एक्लै बाली लगाउन सकेनन्। छिमेकीलाई जग्गा कमाउन दिए।
‘पहिला हिँडेर आवतजावत् गर्नुपथ्र्यो। त्यसकारण कोहि आएनन्। जेठा बाजेले हेरिरहनु भएको थियो। पछि एक्लै हेर्न सक्नुभएनछ। छिमेकीसँग मिलेर गुठीझैँ जग्गा भोगचलन गर्दै आएका रहेछन्,’ उनी सुनाउँछन्।
०००
०३३ सालको कुरा हो, एकदिन दुर्गाभक्त धान निकाल्न ढुकुटीमा पसे। त्यसैबेला उनको खुट्टाले सानो कागजको टुक्रो कुल्चियो। कागजलाई टिपे। कागजमा के थियो, आफूले नपढी बाजेलाई देखाए।
‘मैले बाजेलाई के हो भनेर कागज देखाएँ। बाजेले इमाडोल पाटनको जग्गाको नि? भन्नुभयो। अनि पो मलार्ई थाहा भयो हाम्रो पाटनको जग्गा कति छ। कसले खाइरहेको छ भन्ने,’ उनी सुनाउँछन्।
सो कागज पाटनमा भएको ४ रोपनी ४ आना भएको जग्गाको रसिद रहेछ।
त्यतिबेला दुर्गाभक्तले पुराना सिक्काहरू संकलन र बिक्री गर्ने काम सुरु गरेका थिए। पुरानो वस्तु संकलन गर्ने भएकाले खुट्टाले कुल्चेको कागजमा केही होला कि भन्ने खुल्दुली लागेर बाजेलाई देखाएको उनी सुनाउँछन्।
‘म नेपालको वरिष्ठ क्वैन कलेक्टर पनि हो। त्यतिबेला छाउनीको म्युजियममा काम गर्थेँ। त्यही भएर पुराना–पुराना कुरा हेर्ने इच्छा लाग्थ्यो,’ उनी भन्छन्।
त्यसपछि उनी आफ्नो बाजेको जग्गाको खोजी गर्दै पाटन पुगे। धेरै वर्षदेखि बाजेको जग्गा अरुले कमाइरहेका थिए। बाजेले ०३४ सालमा जग्गा मोहीलाई किन्न भनेका थिए। मोहीलाई ४ भागको १ भाग दिनुपर्ने चलन थियो। त्यो १ भाग बाहेकको जग्गा समेत मोहीलाई २ हजारमा खानू भने। तर मोहिले लिन मानेनन्।
मोहीले सबै जग्गा सित्तैमा लिनलाई भूमीसुधारमा निवेदन दिए। भूमिसुधारले जिल्ला अदालत पठायो। मोहिले मुद्दा हारे। तर उनले आफूले पाउने एक भाग जग्गाचाहिँ पाए।
‘तर पनि मोहीले मालपोतमा पूरै जग्गा दाबी गर्न आए। त्यो पनि कागज भद्रगोल भयो। मोही चुप लागेर बसे। त्यसपछि पहिला जग्गा कमाउनेहरू दावी गर्नै आए,’ उनले भने।
०५३ सालमा गोविन्दमान, शान्तलाल लगायतले आफूहरूले पाउने माग गर्दै जिल्ला अदालतमा मुद्दा हाले। जिल्ला अदालतले पनि गोविन्दमान, शान्तलाल लगायतको पक्षमा फैसला सुनायो। दुर्गाभक्तले ०५८ सालमा पुनरावेदनमा रिट दर्ता गराए। फेरि पुनरावेदनले जिल्ला अदालतले गरेको फैसला नमिलेको भन्दै सच्याउन पठायो।
‘हामी जिल्ला अदालत गयौँ। उनीहरू सर्वोच्चमा मुद्दा दर्ता गराउन गएछन्। त्यसपछि सर्वोच्चमा मिसिल बोलायो। त्यहाँ गएँ। फेरि पुनारावेदन पठायो। पुनरावेदनले जिल्ला अदालतमा बोलायो। यता र उता पठाएर दुःख दियो तर फैसला भएन,’ उनी सुनाउँछन्।
०५८ सालदेखि उनी कहिले तारिख, कहिले पेसी भन्दै सर्वोच्च धाइरहेका छन्। तर २७ वर्षसम्म पनि जग्गाको मुद्दा फैसला हुन नसक्दा हैरानी खेपिरहेको उनी बताउँछन्।
‘अहिले सर्वोच्चमा दोहोरो मुद्दा चलेको छ। हार्न पनि सक्छु, जित्न पनि। मेरो बाजेको जग्गा भएकाले जित्नपर्ने हो तर नेपालको कानुन बुझ्न गाह्रो छ,’ उनी सुनाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।