जर्जिया– अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरे। फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी २ लाख डलर धरौटी बुझाएर रिहा भए।
रिहा हुनु अगाडि ट्रम्पविरुद्ध त्यही अनुसन्धान प्रक्रिया अपनाइयो जुन लागु औषध कारोबार, तस्करी, मदिराले मातेर सवारी हाँकेको अभियोगमा पक्राउ परेका आरोपीविरुद्ध अपनाइन्छ। अनुसन्धान अधिकारीहरुले ट्रम्पको औँठाछाप र टाउकोसहित अनुहारको तस्बिर लिए। फौजदारी अभियोगका अभियुक्तको रुपमा ट्रम्प अमेरिकाका पहिलो (पूर्व)राष्ट्रपति हुन्, जसविरुद्ध अपराध अनुसन्धानका यी प्रक्रिया अपनाइयो।
दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय एनेनबर्ग स्कूल अफ कम्युनिकेसन्सकी प्राध्यापक मार्टी कपलान उक्त क्षण लज्जास्पद तथा अमेरिकाका लागि दु:खद भएको टिप्पणी गर्छिन्। भविष्यमा इतिहासका पुस्तकहरूमा पूर्वराष्ट्रपति ट्रम्पको त्यो आपराधिक छवि स्थायी तस्बिर भएर रहने उनले टिप्पणी गरिन्।
कानुन कार्यान्वयन गर्ने फुल्टन काउन्टी कार्यालयले अपराधको आरोप लागेका एक सामान्य नागरिकका रुपमा सार्वजनिक गरेको पूर्वराष्ट्रपतिको तस्बिरमा ट्रम्प निक्कै रिसाएको देखिन्छन्। हल्का खैरो पृष्ठभूमिमा खिचिएको तस्बिरमा ट्रम्पले नीलो सुट, सेतो शर्ट र रातो टाई लगाएका छन्। उनको काँधको ठ्याक्कै माथि शेरिफको प्रतीक चिह्न पनि देखिन्छ।
७७ वर्षीय पूर्वराष्ट्रपतिले आफू दोषी नरहेको दाबी गरेका छन्। यद्यपि उनीमाथि जर्जियामा जो बाइडेनले पाएको मतपरिणाम उल्ट्याउने प्रयास गरेको आरोप लगाइएको छ।
उक्त कार्यालयले जारी गरेको तस्बिर आफ्नो सामाजिक सञ्जाल र चुनावी अभियान वेबसाइटमा पोस्ट गर्दै ट्रम्पले आफूले केही गलत नगरेको र आफूमाथि निराधार आरोप लगाइएको दाबी गरेका छन्। राजनीतिबाट प्रेरित भएर आफ्नो आगामी निर्वाचन बिथोल्न आफूमाथि अभियोग लगाइएको उनले दाबी गरेका छन्।
अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि ४ पटक आपराधिक रूपमा अभियोग लगाइएको छ। तर उनी आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढिरहेका छन्। जर्जियामा उनीमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुठा बयान दिन अभिप्रेरित गरेकोलगायत ४ वटा मुद्दा दायर गरिएको छ।
यसअघि ट्रम्पविरुद्ध वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियललाईसँगको यौन सम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलर्या भुक्तान गरिएको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद् भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लगाइएको छ।
सन् २०२० को जनवरी ६ तारिखमा अमेरिकी संसद् क्यापिटल हिलमा भएको आक्रमणमा ७ जनाको मृत्यु हुनका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका १५० जना सुरक्षाकर्मी घाइते भएका थिए। त्यहाँ ट्रम्पले परिचालन गरेको भीडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।