दमौली–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले काम भन्दा बढी कुरा गर्न थालेको बताएका छन्।
तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाललाई अहिले विकास चाहिएको तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिँडेका बताए।
वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानमन्त्री केपी ओलीको पनि काम भन्दा बढी बोली मात्रै देखिएको छ। नेपाललाई अहिले सामान्य विकास चाहिएको छ। तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिँडेका छन्।’
नेता पौडेलले वर्तमान सरकारले ठूला आयोजना र काम सुरु भएका आयोजनालाई अलपत्र पारेर नालायकीपन देखाएको बताए।
पौडेलले भने, ‘तनहुँका गाँउ–गाँउमा धेरै बाटोेहरूको डिपिआर भएको थियो। तर चुनावका बेलामा चुनाव प्रभावित हुन्छ भनेर विकासका काम गर्न रोकियो। त्यो बेलामा तत्कालिन एमालेका नेताहरुले विकासका काम रोके। व्यास परासर पर्यटन गुरुयोजना बनाएका थियौँ। त्यो काम पनि अलपत्र परेको छ।’
नेता पौडेलले नेपालको आर्थिक समृद्धिका आधार भनेको कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शत्ति विकास भएको बताए। उनले ७० वर्षदेखि टुंगो लाग्न नसकेको व्यवस्थाको टुंगो लागेको बताउँदै अब मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने बताए।
मुलुक समृद्ध बनाउने बेलामा कम्युनिष्टको शासन सुरु भएकाले जनताले धोका पाउने हो कि भन्ने शंका उब्जिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।