काठमाडौं- एसिया कप छनोट अन्तर्गत हङकङविरुद्ध नेपाल ९५ रनमा अलआउट भएको छ।
मलेसियाको युकेएम ओभलमा भएको उक्त खेलमा नेपालले जित्नैपर्ने दबाब थियो । यसअघिका ४ खेलमा २ मा जित र २ मा हार बेहोरेको नेपाल आफ्नो अन्तिम खेल उत्कृष्ट खेल्ने लक्ष्यका साथ मैदान उत्रिए पनि त्यसमा खरो रुपमा उत्रन सकेन। सुरुदेखि नै नेपालले खराब ब्याटिङ गरेको थियो।
एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल मलेसियामा भएको ओफ्नो पहिलो छनोट खेलमा ओमानसँग अप्रत्यासित हार बेहोरेको थियो । आज हङकङसँग पराजित भएमा तेस्रो हार हुनेछ। यो हारसँगै नेपाल एसिया कप छनोटबाट बाहिरिनेछ।
५० ओभरको खेलमा नेपालले ३७.५ ओभर मात्र खेल्न सक्यो। आरिफ शेखले सर्वाधिक १८ रन बनाए। कप्तान पारस खड्का १४, अनिल साह १५, ज्ञानेन्द्र मल्ल १२ र बसन्त रेग्मीले १५ रन बनाए।
सुवास खकुरेल, र ललितजङ्ग राजवंशीले खाताका कुनै पनि रन जोड्न सकेनन्। नेपालको इनिङ ध्वस्त पार्ने क्रममा हङकङका इशास खानले ४ विकेट लिए। ७ ओभर बलिङ गरेका उनले १५ रन दिँदै नेपालका ४ खेलाडीलाई पभेलियनको बाटो देखाए। अजिज खान र तनभिर अफजलले समान २/२ विकेट लिए भने नदिम अहमद र इशान नवाजले समान १/१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।