काठमाडौं– विभिन्न सामाजिक सञ्जालमार्फत् रकम ठगी गरेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्सा बहुदामाई नगरपालिका–८ बस्ने ३० वर्षीय राज कुमार पण्डीत र रौतहट कटहरीया नगरपालिका–१ बस्ने २१ वर्षीय उमेशकुमार यादव रहेका छन्।
सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपमा जमजम ईलेक्ट्रोनिक्समार्फत् लक्की ड्रमा आइफोन जितेको र कस्टम क्लियरेन्सको लागि पैसा पठाउनुपर्छ भन्दै ठगी गरिएको प्रहरीले जनाएको छ।
आइफोन परेको भन्दै विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा उनीहरुको संलग्नता रहेको खुल्न आएपछि उनीहरुलाई ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेको हो।
उनीहरुबाट नगद ४९ लाख ९५ हजार रुपैयाँ, मोबाइल ७ थान, सिम १ सय ८३ थान, एटीएम कार्ड १२ थान र राउटर १ थान प्रहरीले बरामद गरेको छ। उनीहरुविरुद्ध विद्युतीय माध्यम सम्बद्ध ठगी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।