काठमाडौं– आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म 'एक भगवत् गीता'को गीत सार्वजनिक गरिएको छ।
बिहीबार इन्टरनेटमा रिलिज भएको गीत 'मायालाई चिनो'मा सिनेमाका मुख्य २ पात्र धिरज मग र सुहाना थापाको लभ केमेष्ट्रीलाई प्रस्तुत गरिएको छ।
गीतमा गुरुङ र मधेशी समुदायबाट प्रतिनिधित्व गर्ने दुई फरक पात्रको प्रेमकथालाई भिडियोमा बुनिएको छ। कविराज गहतराजको कोरियोग्राफी तथा संकल्प भुजेलको डिओपी रहेको गीत कास्कीमा खिचिएको हो।
शंकर अधिकारी घायलको शब्द रचना रहेको गीतमा बाबुल गिरीको एरेञ्ज, संगीत तथा स्वर सुन्न सकिन्छ। अन्तरजातीय प्रेमकथामा आधारित रहेको फिल्ममा धिरज र सुहानासँगै विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ।
सुनिल कुमार थापाको निर्माण रहेको फिल्मको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो। झरनासँगै सरिन पोखरेल, परीक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन्।
सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिेकको संगीत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।