काठमाडौं– वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरी फरार रहेका तीन जना जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कालीकोटको तिलागुफा नगरपालिका–३ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने ५२ वर्षीय विष्णुऋषि पाण्डे, सर्लाहीको लालबन्दी–२ का सुमन बुढाथोकी र इलामको सूर्योदय नगरपालिका–१४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्ने ३० वर्षीय छविलाल अधिकारी रहेका छन्।
तिलागुफाका पाण्डेले तिर्थबहादुर थापाबाट वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै त्यसका लागि ८ लाख रुपैयाँ लाग्ने भन्दै चार लाख २४ हजार रुपैयाँ लिएका थिए।
इटाली पुगेपछि पेट्रोल पम्पमा काम लगाइदिने र मासिक एक लाख तलब हुन्छ भनी पटकपटक गरी ४ लाख २५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि पाण्डेविरुद्ध वैदेशिक रोजगार विभागले प्रहरीलाई पक्राउ गरिदिन अनुरोध गरेको थियो।
विभागको पत्राचारअनुसार खोजतालस गर्ने क्रममा पाण्डेलाई मंगलबार दिउँसो ३ बजे कीर्तिपुरबाट पक्राउ गरी अनुसन्धानका लागि विभागमा बुझाइएको प्रहरीले बताएको छ।
सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकीसहित दुई जनाले विनोद श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि ५० हजारभन्दा धेरै तलब हुन्छ भन्दै पटकपटक गरी पीडितबाट एक लाख ५० हजार रुपैयाँ लिएर फरार भएका थिए।
पीडितले विभागमा उजुरी दिएपछि उनीहरुलाई पक्राउका लागि विभागले प्रहरीलाई पत्राचार गरेको थियो। विभागको पत्राचारपछि सुमन बुढाथोकीसहित इलामका छविलाल अधिकारीलाई बुधबार दिउँसो २ बजे सामाखुसीबाट पक्राउ गरिएको हो। थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।