धनगढी- सुदूरपश्चिम प्रदेशमा पछिल्ले २४ घण्टामा ३४ जना डेंगुका संक्रमित फेला परेका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार ३४ जना संक्रमित फेला परेसँगै प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या पाँच सय १३ पुगेको छ।
सुदूरपश्चिम प्रदेश ७ प्रदेशमध्ये डेंगु संक्रमित बढी हुने तेस्रो भएपनि प्रदेशको एक जिल्ला डेंगु संक्रमित देखिने १० स्थानभित्र रहेको छ। सुदूरपश्चिम प्रदेशको दार्चुलामा डेंगु संक्रमित बढी देखिनेमा देशभरमा १० स्थानभित्र रहेको छ।
दार्चुलामा शुक्रबारसम्ममा डेंगु संक्रमितको संख्या एक सय ९४ पुगेको छ। त्यसपछि डेंगु संक्रमित बढी हुनेमा प्रदेशको दोस्रो स्थानमा कैलाली छ।
वर्षा सुरु भएसँगै क्रमिक रुपमा तराई जिल्लामा डेंगु संक्रमण फैलने क्रम जारी रहेको छ। तराई जिल्लामा डेंगु फैलाउने लार्भा खोज तथा नष्ट अभियान संचालन गरिएपनि संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ।
कैलालीमा सन २०२३ को जनावरीदेखि जुनसम्म १० जनामा संक्रमण देखिएकोमा जुलाईमा १६ र अगस्टमा ८३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या एक सय नौ पुगेको छ भने कञ्चनपुरमा जुनसम्म ३४ जनामा देखिएकोमा जुलाईमा २३ र अगस्टमा २९ जना गरि ८६ जनामा डेंगु संक्रमण देखिएको छ।
डेंगु संक्रमण क्रमिक रुपमा पहाडी तथा हिमाली जिल्लामा पनि बढ्ने क्रम जारी रहेको छ। हिमाली जिल्ला दार्चुलामा जुनसम्म डेंगु संक्रमित बढ्दै गए पनि अहिले घट्दो क्रममा रहेको छ। जुनसम्म एक सय ८८ जनामा संक्रमण देखिएकोमा जुलाईमा तीन र अगस्टमा ५ गरि एक सय ९४ जनामा डेंगु संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।
जुनसम्म बाजुरामा चार जनामा डेंगु संक्रमण देखिएकोमा अगस्टमा २८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ३२ पुगेको छ। हिमाली जिल्ला बझाङमा यस अवधिमा ११ जनामा संक्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी ओम जोशीले जानकारी दिए।
पहाडी पाँच जिल्लामा पनि डेंगु संक्रमण फैलने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ। प्रदेशको डोटीमा यस अवधिमा १४, बैतडीमा ६ र अछाममा ५२ जनामा संक्रमण देखिएको छ भने डडेल्धुरामा यस अवधिमा नौ जनामा डेंगु संक्रमण देखिएको छ।
एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट मान्छेमा डेंगु रोग लाग्ने गर्दछ। यो प्रजातिको लामखुट्टेको लार्भा लामो समयसम्म पानी जमिरहने ठाउँमा हुर्कने गरेकाले त्यस्तो ठाउँमा हरेक हप्ता सरसफाइ गर्ने कार्य भइरहेको निर्देशनालयका सूचना अधिकारी जोशीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।