काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
आज (मंगलबार) बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
मंगलबार राति देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।