काठमाडौं– अभिनेत्री मिरुना मगर र ‘द भ्वाइस अफ नेपाल सिजन ४’ विजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
काठमाडौंको राइजिङ मलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो।
देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ। यो गीत करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको छ।
आफ्नै गीतमा पहिलो पटक डान्स गर्दाको अनुभवबारे कार्यक्रममा करणले बोलेका थिए। करणले साङ्गीतिक यात्राको बारेमा बोल्दै भने, ‘कलाकारीता क्षेत्रमा छु, जे छु जस्तो छु, यसलाई नै निरन्तरता दिन्छु भन्ने पूर्ण विश्वास छ। भलै थोरै पैसा कमाउ तर यहि क्षेत्रमा केही गर्छु, र यही क्षेत्रकै लागि म जन्मिएको छु।’
त्यस्तै कार्यक्रममा पुगेका चर्चित कवि तथा निर्देशक उपेन्द्र सुब्बाले करण र गीतको टिमलाई शुभकामना दिएका थिए।
शानद्धरा निर्देशित म्युजिक भिडिओमा मिरुना र करण फिचर्ड छन्। म्युजिक भिडिओलाई अर्जुन तिवारीले खिचेका छन् भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन्। सुप्रिम पराजुलीको सम्पादन, कलर रहेको भिडियोमा प्रिया कार्कीको मेकअप रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।