काठमाडौं– बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सोनम घ्याल्चे घले विरुद्ध पाँच वटा कसुर लगाउँदै मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा पाँच वटा मुद्दा दर्ता गरिएको छ।
जसमा चार वटा बालयौन दुर्व्यवहारका छन् भने एउटा मुद्दा बलात्कार कसुरको रहेको छ। उनले चार जना बालबालिकालाई यौन दुर्व्यवहार र एक जनालाई बलात्कार गरेको पाइएपछि पाँच वटा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
बालबालिकामाथि यौन दुर्व्यवहार तथा बलात्कार गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भूको टोलीले होस्टल सञ्चालक घलेलाई साउन १२ गते पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठ स्कुलको प्रांगणमा स्नो मञ्जुश्री संस्थाद्वारा सञ्चालित होस्टलका बालिकाहरुमाथि घ्याल्चेले यौन दुर्व्यवहार र बलात्कार गरेको आरोप लगाइएको छ।
यौन दुर्व्यवहार हुने गरेका पाइएको भन्दै काठमाडौं महानगरले कारबाही गर्नका लागि प्रहरीलाई पत्राचार गरेको थियो। त्यसपछि प्रहरीको टोलीले घ्याल्चेलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउँदा बलात्कार समेत हुने गरेको पाइएको हो।
राष्ट्रिय बाल अधिकार परिषद्, बाल हेल्पलाइन, छोरी संस्था र बाल अधिकारका लागि राष्ट्रिय अभियानको संयुक्त टोलीले स्थलगत निरीक्षण गरी प्रारम्भिक रुपमा पीडित बालबालिकाहरुले दिएको जानकारीअनुसार बाल यौन दुर्व्यवहार हुने गरिएको देखिएपछि घ्याल्चेलाई पक्राउ गरिएको थियो।
उक्त होस्टलबाट ११ जना बालबालिकाको उद्धार समेत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।