काठमाडौं– बाल यौन दुर्व्यवहार गरेको आरोपमा होस्टल सञ्चालक नै पक्राउ परेका छन्। बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भूको टोलीले होस्टल सञ्चालक सोनम घ्यामचे घलेलाई पक्राउ गरेको हो।
घ्यामचेलाई बुधबार पक्राउ गरिएको वृत्त स्वयम्भूका इन्सपेक्टर देवीदत्त मोतेले जानकारी दिए। उनीमाथि बाल यौन दुर्व्यवहारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठ स्कुलको प्रांगणमा स्नो मञ्जुश्री संस्थाद्वारा सञ्चालित होस्टलका बालिकाहरुमाथि घ्यामचेले यौन दुर्व्यवहार गरेको आरोप छ।
यौन दुव्यर्वहार हुने गरेका पाइएको भन्दै काठमाडौं महानगरले कारबाही गर्नका लागि प्रहरीलाई पत्राचार गरेको थियो। त्यसपछि प्रहरीको टोलीले घ्याम्चेलाई पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान अघि बढाइएको छ।
राष्ट्रिय बाल अधिकार परिषद, बाल हेल्पलाइन, छोरी संस्था र बाल अधिकारका लागि राष्ट्रिय अभियानको संयुक्त टोलीले स्थलगत निरीक्षण गरी प्रारम्भिक रुपमा पीडित बालबालिकाहरुले दिएको जानकारीअनुसार बाल यौन दुर्व्यवहार हुने गरिएको देखिएपछि घ्यामचेलाई पक्राउ गरिएको हो। पक्राउ परेका घ्यामचेलाई प्रहरी वृत स्वयम्भूमा राखेर अनुसन्धान अघि बढाइएको छ।
उक्त होस्टलबाट ११ जना बालबालिकाको उद्धार समेत गरिएको छ। उनीहरुलाई अहिले सुरक्षित गृहमा राखिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।