काठमाडौं– अभिनेता दिव्य देवको आज ३४औं जन्मदिन।
पछिल्लो समय उनी घिमिरे युवराजद्वारा निर्देशित नाटक ‘ट्रान्जिट’मा व्यस्त छन्। नाटकमा मानव शास्त्रीको चरित्र निर्वाह गरेका दिव्य देवले अभिनयका कारण थुप्रै तारिफ बटुलिरहेका छन्।
पछिल्लो समय अभिनयकै कारण चर्चामा आएका कलाकार मध्येमा पर्छन् उनी। विसं २०७८को अन्तिममा रिलिज भएको फिल्म ‘चिसो एस्ट्रे’मा दिव्यदेवले मदनको भूमिका निभाएका थिए।
यसमा उनको अभिनयलाई दर्शक तथा समीक्षकले निकै रुचाए। त्यसलगत्तै दिव्य देवले खेलेका दुई फिल्म ‘हिजो आजका कुरा’, ’राधा’ पनि प्रदर्शनमा आए। उनी अभिनित फिल्म ‘राधा’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेस्टिभलको यात्रा गरिरहेको छ। दिव्य देवको लिड क्यारेक्टर रहेको फिल्म ‘रुदाने’मा उनले निर्वाह गरेको रुपचन्द्र विष्टको भूमिकालाई लिएर दर्शकहरूको ठूलो अपेक्षा थियो।
फिल्मको टिजर सार्वजनिक भए पनि निर्माणको काम भने अझै बाँकी छ।
दिव्य देवले ‘लभ, लस्ट, लाइफ’, ‘बाबु’, ‘शुक्रकीट’, ‘साइपाल’ लगायत थुप्रै लघु चलचित्रमा मुख्य पात्रका रूपमा काम गरेका छन्।
नाटकमा उस्तै जमिरहेका दिव्य देव
दिव्य देव फिचर्ड फिल्मसँगै नाटकमा पनि उत्तिकै जमिरहेका छन्। उनको लिड क्यारेक्टर रहेको नाटक ‘ट्रान्जिट’ करिब एक महिनादेखि बत्तिशपुतलीस्थित शिल्पी थिएटरमा चलिरहेको छ। ‘ट्रान्जिट’अघि दिव्यले अनुप बराल निर्देशित नाटक ‘एक सपनाको अवसान’मा अभिनय गरेका थिए।
उनले नेपाली भन्दा अंग्रेजी नाटक धेरै गरेका छन्।
'एन्जल्स इन अमेरिका' नाटकमा समलिंगी भूमिकामा गरेको अभिनयबाट दिव्यदेवको थिएटर करिअर सुरु भएको थियो। लुक ब्याक इन एङ्गर, अन्ना इन द ट्रपिक्स, मिड समर नाइट्स ड्रिम, सेम टाइम नेक्स्ट इयरलगायत १८ भन्दा बढी अङ्ग्रेजी नाटकमा दिव्य देवको लिड क्यारेक्टर छ।
उनले ‘सान्दाजुको महाभारत’, ‘ह्यामलेट’ पछि नेपाली नाटकमा पनि उत्तिकै प्रभाव जमाउन थाले।
‘ट्रान्जिट’पछि भने दिव्य देव केही समयका लागि नाटकबाट लागि विश्राम लिने र त्यसपछि राम्रो स्क्रिप्ट आए फिल्ममा काम गर्ने बताउँछन्।
‘ब्याक टु ब्याक नाटक गरिरहेँ। केही समय आराम गर्छु,’ दिव्यदेवले भने, ‘फिल्मका स्क्रिप्टहरू पनि आइरहेका छन्। तर चित्त बुझेका छैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।