काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ।
आज (शुक्रबार) बिहानसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।