काठमाडौं- कारागार कार्यालय संखुवासभामा कैदीहरू विनोद तोलाङ्गी र आकाश बलामीको साउन २४ गते कारागारभित्रै मृत्यु भएको घटनामा २३ गते राति ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन्।
कार्यालयका प्रमुख राजेन्द्र घिमिरेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सरोज खनालका अनुसार आइतबार जिल्ला अदालत संखुवासभाबाट असाई चौधरीलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
पहिलोपटक म्याद थप गरी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकका आफन्तले शनिबार जिल्ला कारागार कार्यालयका प्रमुख राजेन्द्र घिमिरे र ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीविरुद्ध पनि जाहेरी दिएका थिए।
साउन २४ गते राति १ बजे कैद २० वर्षीय कैदी तोलाङ्गी र २७ वर्षीय विकास श्रेष्ठ भन्ने बलामीले आफू बस्ने तल्लो तलाको ब्लकको झ्यालको रड काटी भाग्ने प्रयास गरेका थिए। डिउटीमा रहेका प्रहरीले देखेपछि कारागार प्रशासन समेतलाई जानकारी गराएका थिए।
कारागार कम्पाउण्डभित्रै प्रहरी कर्मचारीहरुले नियन्त्रणमा लिने क्रममा उनीहरूमाथि कुटपिट भएको थियो।
प्रहरीले नियन्त्रणमा लिएपछि सँगै ब्लकमा केही कैदीबन्दीहरू समेतले उनीहरूलाई कुटपिट गरेको आरोप पीडित परिवारको छ। घाइते दुवैको उपचारका क्रममा जिल्ला अस्पताल खाँदवारीमा मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।