काठमाडौं– आइतबार ब्रह्मानन्द गडेरियाको सर्वोच्चमा साधारण तारिखको थियो। उनी रामप्रसाद हर्जनलाई साथी लिएर रुपन्देहीबाट शनिबार काठमाडौं आइपुगे।
साँझ बसपार्क छेवैको एक होटलमा खाना खाएर त्यहीँ सुते। आफ्नै भाइको तमसुकको जालमा फसेका उनी सर्वोच्चबाट न्याय पाउने सपना देख्न थाले।
‘भोलि त मेरो काम बनिहाल्छ,’ रातभर यही कुरा सोचिरहे।
भोलिपल्ट बिहान १० बजे नै ब्रह्मानन्द सर्वोच्चमा हाजिर भए। तर सर्वोच्चमा आफ्नो मुद्दाको फाइल नै भेट्टिएन। उच्च अदालत तुलसीपुर बुटवलकोे इजलासबाट सर्वोच्चमा उनले पुनरावेदन दर्ता गरेका थिए। मुद्दा त दर्ता भयो। तर फाइल सर्वोच्चमा आइपुगेको थिएन।
‘मुद्दा दर्ता भएको तीन महिना भइसक्यो। आज तारेख थियो। फाइल नै आएको छैन रे,’ खिन्न हुँदै उनले सुनाए।
तीन महिनासम्म फाइलचाहिँ किन आएन? यसको जवाफ पाउन सकेनन् ब्रह्मानन्दले।
उनी पहिलो पटक तारिखको लागि सर्वोच्च अदालत आएका रहेछन्। बुटवलबाट दर्ता भएकाले पहिला अनलाइन तारेख बुटवलबाटै लिएका थिए।
‘यसपालि काठमाडौं पुग्ने, कानुन व्यवसायीलाई भेट्ने र पेशीमा मुद्दा लैजाने मन बनाएर आएको थिएँ। तर फाइल नै नआइपुग्दा फेरि बुटवल पुगेर फाइलको खोजी गर्नुपर्ने दुःख आइलागेको छ,’ उनले भने।
हामी पुग्दा ब्रह्मानन्द सर्वोच्चको एक कुनामा दुई कानुन व्यवसायीसँग कुरा गरिरहेका थिए। उनीसँग धेरै सवाल एकैपटक आइरहेका थिए, ‘फाइल कहिले आउँछ, कहिले मुद्दा सुनुवाइमा जान्छ? न्याय कहिले पाइन्छ?’
‘फाइल छिट्टै आइपुग्छ। अनि तपाईंको काम छिट्टै हुन्छ,’ उनको मुद्दा हेर्न खटिएकी अधिवक्ता रीता कार्कीले ब्रह्मानन्दलाई सान्त्वना दिँदै भनिन्।
उमेरले ५० नाघिसकेका ब्रह्मानन्द परिवारको एक्लो छोरा हुन्। परिवारमा अहिले उनी एक्लै छन्। यही एक्लोपनको फाइदा उनका काकाका छोराले उठाए। उनले जालसाजी गरेर जग्गाको तमसुक गराए अनि कब्जा गर्न खोजे।
‘पुख्र्याैली सम्पत्ति २ विघा जमिन छ। आफूलाई जिविका चलाउन त्यही जमिनले पुगिराखेकै थियो। मैले कहिल्यै कसैसँग पैसा लिने गरेको थिइँन। मूल्यवान जग्गा देखेर पैसा लिएको भनी तमसुक बनाई जग्गा कब्जा गर्यो,’ उनी भन्छन्।
रुपन्देहिको सुद्धोधन गाउँपालिकाको मूल सडक छेवैमा छ उनको २ विघा जमिन। त्यो पूरै बेच्यो भने अहिले करिब ४ करोड आउने ठम्याइ छ उनको।
‘मूल सडकको छेउमा अहिले २ लाख रुपैयाँ धुर पर्छ। मेरो जग्गा बेच्दा पनि त्यही हिसाबमा बिक्री हुन्छ,’ ब्रह्मानन्दले भने।
०७३ सालमा काकाको छोराले ब्रह्मानन्दको जमिन नापी नभएको र मालपोत लगेर नापी गराइदिने सुनाए। ब्रह्मानन्दले भाइको कुरा नकार्न सकेनन्।
‘तिम्रो जग्गा नापीमा छुट्यो, नापी गराउनुपर्छ भनेर मलाई मालपोत लग्यो। त्यहाँ मोटो कागज तयार पारेर राखेको रहेछ। यहाँ औँठा छाप लगाऊ भन्यो। होला भनेर औंठा छाप लगाएँ। ४० लाख रुपैयाँमा जग्गा बेचेकोे कागज बनाएको रहेछ।,’ उनले तमसुक देखाउँदै भने, ‘हेर्नुस् सबै यसमा छ।’
ललन गडेरियाले ०७३ पुस ३ गते बह्मानन्दलाई ३० लाख बुझाएको र बाँकी १० लाख रुपैयाँ माघ मसान्तभित्र जग्गा पास गरेपछि बुझाउने सर्तमा बह्मानन्दले कित्तानम्बर १८२ को जमिन ४० लाख रुपैयाँमा बिक्री गरेको भन्ने तमसुकमा लेखिएको थियो।
तर ब्रह्मानन्द आफूले ललनसँग एक पैसा पनि नलिएको र जग्गा बिक्री गर्ने कुरै नभएको सुनाउँछन्।
ललनले ब्रह्मानन्दले ४० लाख रुपैयाँ जग्गा पास गरिदिने कबोल गरेर बैना स्वरुप ३० लाख रुपैयाँ बुझाएको, माघ मसान्तसम्ममा १० लाख रुपैयाँ बुझाएपछि जग्गा पास गरिदिने भनेको तर जग्गा पास नगरिदिएको भन्दै अदालतमा लेनदेन मुद्दा हाले।
त्यसपछि ब्रह्मानन्दको नाममा म्याद गयो। म्याद गएपछि भाइले लेनदेन मुद्दा हालेको बल्ल थाहा पाए। म्यादमा भनिएको रहेछ, ‘०७४ भदौ ७ गते जिल्ला अदालतमा प्रतिउत्तर दर्ता गर्नु।’
त्यसपछि ब्रह्मानन्दले गाउँभेला जुटाए। भाइले आफूलाई फसाएको बारे गाउँभेलामा सुनाए। गाउँभेलाले ब्रह्मानन्दको पक्षमा बोल्यो। त्यसपछि ललनले नक्कली तमसुक बनाएर फसाएको भन्दै ब्रह्मानन्दले जिल्ला अदालतमा प्रतिउत्तर दिए।
०७६ भदौ १७ गते जिल्ला अदालतलका न्यायाधीश धनसिंह महराले ब्रह्मानन्दको पक्षमा फैसला सुनाए।सो फैसलाबाट ब्रह्मानन्दले न्याय पाउने भए तर त्यो फैसला ललनलाई मान्य भएन।
त्यसपछि ललनले उच्चमा उच्चअदालत (पुनरावेदनमा) तुलसीपर बुटवलमा जालसाजी मुद्दा हाल्यो।
उच्च अदालतमा मुद्दा उल्टियो। ०७९ चैत १४ गते चन्द्रबहादुर सारु र रमेशराज पोखरेलको इजलासले ललनको पक्षमा फैसला सुनायो।
ब्रह्मानन्दले न्याय नपाउने गरी फैसला आयो। ब्रह्मानन्दले सो फैसलालाई त्रुटिपूर्ण भएको भन्दै फेरि सच्याउन माग गर्दै निवेदन हाले।
त्यसपछि उच्च अदालतले सर्वोच्चमा पठायो। गत जेठ ७ गते उनको मुद्दा सर्वोच्मा दर्ता भएको छ।
‘यो मुद्दा लडेको पाँच साल भयो। अढाइ साल जिल्ला अदालत कपिलवस्तुमा लडियो। त्यहाँबाट मेरो पक्षमा फैसला भएको थियो। तर उच्चमा पठायो। अढाइ सालपछि उच्चले फैसला उल्ट्यायो,’ उनी सुनाउछन्, ‘सर्वोच्चले मलाई न्याय दिन्छ भन्ने आशा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।