काठमाडौं– श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति सिरिसेना नेतृत्वको प्रतिनिधिमण्डल यही भदौ १३ गतेदेखि नेपाल भ्रमणमा थियो। राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिदाइ गरे।
राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा, श्रीलंकाका लागि नेपाली राजदूत प्राध्यापक विश्वम्भर प्याकुर्याल तथा शिष्टाचार महापाल दीपक अधिकारीलगायतले श्रीलंकाली राष्ट्रपतिलाई बिदाई गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।