काठमाडौं– एसिया कप छनोट अन्तर्गत मलेसियामा जारी चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ।
युकेएम ओभल मैदानमा १ सय ५२ रनको लक्ष पछ्याएको नेपालले २८ दशमलब १ ओभरमै जित हात पारेको हो।
सिंगापुरविरुद्ध सामान्य लक्ष पछ्याएको नेपालले सुरुवात राम्रो गरेपनि जित नजिक पुगेर सम्हालिन नसक्दा ठूलो अन्तरको जित दर्ता गर्नबाट भने चुकेको हो। यद्यपी २१ दशमलब ५ ओभरको खेल अगावै जित दर्ता गरेको हो।
नेपालका लागि प्रारम्भिक जोडी सुवास खकुरेल र अनिल शाहले ५६ रनको साझेदारी गरेका थिए। शाहले ३२ बलमा ५ चौका र ३ छक्काको मदतमा ४३ रनको आक्रामक पारी खेलेका थिए। तेस्रो स्थानमा मैदान छिरेका कप्तान पारस खड्का मात्र ११ रन बनाउँदै अनन्था कृष्णको बलमा बोल्ड भए।
पारस आउट भएको २ बलपछि नै खकुरेलको रुपमा नेपालले तेस्रो विकेट गुमायो।
उपकप्तान ज्ञानेन्द्र मल्लले २९ रनको पारी खेल्दै नेपाली टोलीलाई सम्हाल्न खोजेका थिए। उनलाई दिपेन्द्रसिंह ऐरीले (३३ रन) राम्रो साथ दिएका थिए।
तर खेल जित्न मात्र ४ रनको खाँचो रहेको अवस्थामा नेपालले सेट ब्याट्सम्यान ऐरी र सागर पुन(१४ रन) लाई लगातार गुमाउन पुग्यो। त्यपछि आरिफ शेखले चौका हिर्काउँदै नेपालको जित सुनिश्चित गरेका थिए।
सिंगापुरका लागि सेल्लाडोर विजयकुमार र अनन्था कृष्णले समान २/२ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरको खेल सकिन ८ ओभर बाँकी रहँदा १ सय ५१ रनमै समेटिएको हो।
सिंगापुरलाई सस्तैमा रोक्न नेपालका युवा लेगस्पिनर सन्दिप लामिछाने र ललित नारायण राजबंशीले ३/३ विकेट लिए। यस्तै, सोमपाल कामीले २ विकेट र वसन्त रेग्मीले १ विकेट हात पारे। सिंगापुरका एक खेलाडी रन आउट भएका थिए।
सिंगापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले सर्वाधिक ६० रन बनाए। ८८ बल खेलेका उनले ललित राजबंशीको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि ८ चौका र १ छक्का प्रहार गरेका थिए।
यस्तै, अनिश पारामले ३१ रन र कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाउनुबाहेक सिंगापुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
आज सिंगापुरलाई हराएपनि हालसम्म नेपाल अंक तालिकाको चौथो स्थानमा नै यथावत छ। एसिया कपका लागि छानिन नेपालले आगामी खेलमा हङकङलाई फराकिलो अन्तरले पराजित गरेर मात्रै पुग्दैन। युएई र ओमानले समेत आफ्ना आगामी खेल फराकिलो अन्तरले गुमाउनुपर्ने हुन्छ। यस अर्थमा नेपालको एसिया कप खेल्ने सम्भावना क्षीण बन्दै गएको छ।
एसिया कपमा छनोट हुन आसन्न छनोट प्रतियोगिताको पहिलो स्थानमा रहनुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।