काठमाडौं- ‘काउली’को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन्। आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन्। गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन्।
चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमो लोक लयको काउली गीत ल्याएका हरिवंश तत्काल नयाँ गीत ल्याउने तयारीमा थिएनन्। तर, चितवनको एउटा जमघटमा फुरेको लय गायक तथा निर्देशक सरोज वलीलाई सुनाउँदा तत्काल यो संयोजक जुरेको बताउँछन्।
‘अहिले नै नयाँ गीत ल्याउँला भन्ने थिएन,’ हरिवंशले भने, ‘दुई महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरु गीत गाउँदै उफ्री-उफ्री नाचिरहेको देखेँ। त्यहीबेला अचानक मेरो दिमागमा एउटा लय फुर्यो। हत्तपत्त कोठामा गएँ। मोबाइलमा रेकर्ड गरेँ। लयसँगै शब्द पनि आयो- ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का।'
गीतले गायन र नृत्यमा लागेका मान्छेहरुको भाव बोकेको उनले बताए। ‘यो सन्देशमूलक गीत होइन ,’ उनी भन्छन्, ‘यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो।' यद्यपि, यस गीतमा नेताहरूले चुनाव जित्न पैसा बाँड्ने विकृतिलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ।
यो गीतमा ‘काउली’कै कलाकार दोहोरिएका छन्। गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै गायक तथा निर्देशक सरोज ओलीले अभिनय गरेका छन्। नवराज उप्रेतीको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भीर विष्टले गरेका हुन्।
भिडिओ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।