बनेपा– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश निर्माण गर्न समाजका सबै वर्ग सक्रिय हुनुपर्ने बताएका छन्।
पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभाको शनिबार काभ्रेपलाञ्चोकको बनेपामा उद्घाटन गर्दै उनले भने– 'देश निर्माण गर्ने सरकारको संकल्पलाई पूरा गर्न समाजका सबै वर्ग सक्रिय रुपमा लाग्नुपर्दछ।'
मन्त्री बाँस्कोटाले राष्ट्रले लिएको समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पूरा गर्न सहकारी क्षेत्र एउटा महत्वपूर्ण खम्बा भएको उल्लेख गर्दै उनले भने– 'पूँजी निर्माण नगरेसम्म दान, अनुदान वा ऋणले मुलुक बन्दैन, त्यसैले सहकारीले पूँजी निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्दछ।'
'देश निर्माण गर्न प्रभावकारी योजना तथा पूँजी र प्रविधिको आवश्यकता पर्छ', उनले भने, 'राष्ट्रिय पूँजी निर्माणमा सहकारी क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्छ।'
मन्त्री बाँस्कोटाले पशुपतिको भेटी व्यवस्थापन गर्न नसक्दा अर्कासित हात थापेर धर्माशाला बनाउनुपरेको अवस्था रहेको उल्लेख गर्दै प्रत्येक नेपाली सुखी नभए मुलुक समृद्ध हुन नसक्ने र यसका लागि राष्ट्रिय पूँजी परिचालन आवश्यक रहेकोमा जोड दिए।
सहकारीले चर्काे व्याजदर लिएको भए त्यसलाई सच्याउन आग्रह गर्दै उनले उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गरी समृद्ध मुलुक निर्माणमा सहयोग गर्न सहकारीकर्मीलाई आग्रह गर्नुभयो।
मन्त्री बाँस्कोटाले सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि आर्थिक रुपान्तरणले मात्रै हुँदैन् भन्दै यसका लागि समाजिक र सांस्कृतिक रुपान्तरण पनि जरुरी भएकाले यसतर्फ सहकारी क्षेत्रले प्रभावकारी भूमिका खेल्न सक्नुपर्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।