काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गरेको टिप्पणी गरेकाछन्। अध्यक्ष दाहालले आफ्नो निवास खुमलटारमा शनिबार बिहान कार्यकर्तासँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै जनतामाथि विश्वास गर्ने समय आएको बताएका हुन्।
‘कसैलाई रहर लागेर नेता हुन सक्ने होइन,’ दाहालले भने, ‘इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो।’ उनले आफूहरुले जनयुद्ध र शान्ति प्रक्रिया दुवैको नेतृत्व गरेको उल्लेख गर्दै लामो संघर्ष र बलिदानपछि देश गणतन्त्रको युगमा प्रवेश गरेको बताए।
‘अब हामी सामाजिक न्याय र समृद्धिको एउटा प्रक्रिया मार्फत समाजवादको तयारीमा छौं,’ उनले भने।
पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले सबैलाई बिना पूर्वाग्रह उचित भूमिका दिइने बताए। उनले भने, ‘पार्टी छोडेर अन्य पार्टीमा गएर अनुभव हासिल गरेका नेता तथा कार्यकर्ताहरु प्रति मेरो कुनै पूर्वाग्रह हुन्न।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।