काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सामुदायिक क्याम्पसहरूलाई एकआपसमा गाभ्ने(मर्जर) प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल पब्लिक क्याम्पस सङ्घ गण्डकी प्रदेश अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले विद्यार्थी सङ्ख्या, लगानी सबैलाई हेर्दा सामुदायिक क्यम्पस एकआपसमा गाभ्दा लगानीअनुसारको प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे।
सरकारले उच्च शिक्षामा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले कसरी प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
गण्डकी प्रदेश सरकारले सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने नीति बनाएर कार्यक्रम सार्वजनिक गरी रु एक करोड ७५ लाख रकम विनियोजन गरेको जानकारी दिँदै उनले भने, ‘कार्यक्रमको प्रभावकारिताका आधारमा बजेटमा वृद्धि गरिनेछ।’
क्याम्पसले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने, दक्ष युवा जनशक्ति विदेशिने दर न्यूनीकरण गर्न व्यावसायिक शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले क्याम्पसको स्वामित्वमा जग्गा ल्याउने गरी कानुन निर्माण गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।