जनकपुरधाम– संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आमनागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबार धनुषाको सपहीस्थित स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको प्राङ्गणमा विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्माण गरिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको हस्तान्तरण र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले स्वास्थ्य सेवा सुधारका लागि मन्त्रालयले विभिन्न क्षेत्रमा दिनरात कामकाज गरी रहेको भन्दै ६ महिनाभित्रमा स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने दाबी गरे। मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न किसिमका भेदभाव र विकृतिहरुलाई समाप्त पार्दै काम गर्ने मान्छेलाई वातावरण दिनुपर्छ भन्ने मान्यताका साथ मन्त्रालय अघि बढेको जानकारी गराए।
स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीको योग्यता क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरमा तालिमहरु दिने काम काजहरु भइरहेको भन्दै त्यस्ता तालिममा हुम्लामा बसेर काम गर्ने कर्मचारीले पनि सहभागी भई विदेश भ्रमण गर्न पाउनेजस्ता अवसरहरु मन्त्रालयले प्रदान गर्न लागेको बताए। उनले काम गर्नेलाई पुरस्कार र काम नगर्नेलाई दण्ड हुनुपर्ने मान्यताका साथ मन्त्रालयले मूल्यांकन गरिरहेको उल्लेख गरे।
जनसंख्याको हिसाबले बढी जनसंख्या भएको मधेश प्रदेश रहेको कारण एउटा प्रदेशमा एउटा विशेषज्ञ सेवा हुनुपर्ने उनको भनाइ थियो। जनकपुरधाममा मुटु रोगको सेवा प्रभावकारी बनाउने विषयमा प्रक्रिया अघि बढाइने र यसले मुटु रोगका बिरामीलाई काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य हुने मन्त्री बस्नेतले बताए।
प्रदेशको कुनै पनि ठाउँमा कुनै किसिमको आपत विपत आएमा अब आपतकालीन कार्य सञ्चालन केन्द्रले विभिन्न निकायसँग समन्वय गरी तत्कालै समस्या समाधान गर्नमा मद्दत पुर्याउने उनको कथन थियो।
कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्य अवस्थालाई सवल र सुदृढ बनाउनका लागि आफू लागि परेको बताए। उनले मधेश प्रदेशको प्रादेशिक अस्पतालमा आजैबाट लागु हुने गरी जनरल बेड निःशुल्क गरिएको बताउँदै प्रदेश सरकार सुलभ रुपमा स्वास्थ्य सेवा दिन चाहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।