काठमाडौं– माइली’ गीतबाट चर्चा कमाएकी गायिका अंकिता पुनको सोही नामबाट एल्बम सार्वजनिक भएको छ।
ललितपुरको मोक्ष रेस्टुरेन्टमा भएको कार्यक्रममा एल्बमको पोस्टर सार्वजनिक गर्दै ‘माइली’ एल्बम सार्वजनिक गरिएको हो। आज सार्वजनिक पोस्टरमा गायिका पुनकै स्केच छ जसलाई कलाकार सुजन राईले बनाएका हुन्।
एल्बम सार्वजनिकसँगै गायिका पुनको पहिलो सांगीतिक भ्रमण योजनाबारे पनि विस्तारमा जानकारी दिइयो। भारतको दार्जिलिङ र सिक्किमबाट अगस्टको दोस्रो हप्तादेखि सांगीतिक भ्रमण सुरु हुने आयोजक पूर्वाञ्चल रक्सले जनाएको छ।
त्यसपछि नेपालका काठमाडौं, पोखरा, बुटवल, दाङ, इटहरी, बिर्तामोडलगायत प्रमुख सात सहरहरुमा गायिका पुनले आफ्नो संगीत प्रस्तुत गर्ने कार्यक्रम रहेको यस सांगीतिक भ्रमणका व्यवस्थापक सुसन राईले जानकारी दिए। नेपाल भ्रमण सकिएपछि विदेश भ्रमणको तयारी सुरु हुने भन्दै उनले हालसम्म अस्ट्रेलियाका केही सहरमा सांगीतिक भ्रमण तय भइसकेको बताए।
कार्यक्रममा गायिका पुनले पहिलो देश विदेश सांगीतिक भ्रमणको संघारमा आइपुग्दा आफू धेरै उत्साहित र अलिअलि नर्भस पनि भएको बताइन्। ‘माइली’ एल्बममा माइली, चार दिन चार जुनी, सखी, ऐना म, आधार, सिजेन्रो र माया त यस्तै हो बोलका गीत समावेश छन्।
सातमध्ये माइली, चार दिन चार जुनी र सखी गीतका तीन वटा गीतको म्युजिक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ। एल्बमका बाँकी चार गीतहरुको आगामी शुक्रबारदेखि भिडियो क्रमशः सार्वजनिक हुने पूर्वाञ्चल रक्सका संस्थापक रोहन लिम्बूले जानकारी दिए।
गायिका पुन संगीतलाई भावनात्मक यात्राका रुपमा लिन्छिन्। उनले भनिन्, ‘यसअघिका सबै गीतहरु जस्तै मेरा नयाँ गीतहरुमा पनि मेरा आफ्नै तीतामीठा अनुभूति समेटिएका छन्। ती गीतहरु मेरो इमोसनल जर्नीका उपज हुन्।’
गायिका पुनको सांगीतिक कन्सर्टलाई ‘रकिङ फिलिली’ ब्यान्डका सदस्यहरुले साथ दिनेछन्। सांगीतिक भ्रमणमा गायिका पुनसँगै रकिङ फिलिलीका गितारिस्ट सुमन प्रधान, सुशन जंग कार्की, इक्साहाङ सुब्बासँगै ड्रमर हेनरी राई, किबोर्डिस्ट अजय धिमालको साथ रहने आर्टिस्ट मेनेजर लोकबहादुर पुनले जानकारी दिए।
इभेन्टको साउन्ड व्यवस्थापनको जिम्मेवारी विशाल नेपालीले गर्नेछन्। ‘रकिङ फिलिली’ले आफ्ना ओरिजिनल गीतहरु पनि स्रोताहरुलाई सुनाउँदै भ्रमण गर्ने बताइएको छ।
अंकिता पुनको सांगीतिक भ्रमणमा सहयोग गर्न गितार सप म्युजिक पार्टनरका रुपमा छ। भ्रमणलाई कम्युनिकेसन्समा फस्र्ट लिंक र आइटीमा ओमकार कम्प्युटर्सले सघाउने छ।
माइ पे एप भ्रमणको टिकेटिंग पार्टनर हो भने यस टुरलाई इभ इन, म्युस इभेन्ट्स, स्नुक्स क्याफे एन्ड बार, सेभेन एसेस र स्म्यासिङ स्टेरियो र के गरिरा! ले सहआयोजकका रुपमा सघाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।