प्रतिकात्मक तस्बिर काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
बुधबार दिउँसो दार्चुला, बझाङ, बैतडी र आसपास भएर बहने केही स-साना नदीहरुमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाको पूर्वानुमान छ। ती जिल्लाका केही स–साना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाले जनाएको छ।
यस्तै, झापा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, ललितपुर, सर्लाही, महोत्तरी, धनुषा, बाग्लुङ, म्याग्दी, रुकुम पूर्व, अछाम, डोटी, डडेलधुरा, बाजुरा, कालिकोट र आसपास भइ बहने केही स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान छ।
बुधबार बिहानको मापनअनुसार कोशी, कन्काइ, नारायणी, कर्णाली, महाकाली, बबइ, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।