काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गराइ बन्दी बनाएर कुटपिट गरेको आरोप लागेको छ।
रेडियो खप्तड आवाजमा कार्यरत पत्रकार सुनिल मण्डेललाई खड्काले अपहरण गरी बन्दी बनाइ कुटपिट गरेको आरोप लागेको हो। नेपाल पत्रकार महासंघ बझाङ शाखाले पत्रकार मण्डेलको अपहरण भएको जनाउँदै घटनाप्रति आपत्ति जनाएको छ।
स्थानीय होटेल होलिडे इनका सञ्चालक समेत रहेका खड्काको निर्देशनमा अपहरण गरी मण्डेलमाथि कुटपिट भएको पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष शैलेन्द्र रोकायाले जनाएका छन्।
पत्रकार महासंघ बझाङ शाखाले एक विज्ञप्ति नै जारी घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।
खड्काले भने आफूले अपहरण गर्न लगाएर कुटपिट गरेको कुरा अस्वीकार गरेका छन्। पत्रकार मण्डेलले होटलको विज्ञापन तथा समाचार सामग्री (डकुमेन्ट स्टोरी) प्रकाशन तथा प्रसारण गर्ने भनेर आफूसँग सम्झौता गरेको, तर उक्त समाचार सामग्री प्रकाशन नभएपछि आफूले बुझ्न खोज्दा अपहरणको आरोप लगाइएको खड्काको भनाइ छ।
खड्काले भने– ‘उनी (मण्डेल)ले होटेलको विज्ञापन र प्रचार प्रसारका लागि स्टोरी बनाइदिन्छु भनेर प्रस्ताव गरेका थिए। उनले ५० हजारको सम्झौता गरौं भनेका थिए। मैले सुरुमा २५ हजारको गरौं भने। तर १ हजार उनले आफैं राखे, २४ हजार रुपैयाँको मात्रै सम्झौता गरे, जेठ १७ गते सम्झौता भयो। सम्झौताअनुसार जेठमा पनि समाचार स्टोरी भएन। असार र साउनमा समेट स्टोरी नआएपछि मैले केही दिन अगाडि उनलाई फोन गरेर बुझेको थिए। समाचार प्रकाशित नगर्ने भए सम्झौता रद्ध गर्नुपरेको भनेको थिए। तर उनले सामाजिक सञ्जाल (फेसबुक)मा मविरुद्ध नै जथाभावी लेख्न थाले। मैले यहाँका प्रहरी प्रमुख, डीएसपी सापलाई पनि घटनाबारे जानकारी गराएँ। उहाँले पत्रकार महासंघमार्फत् जानु राम्रो हुन्छ भनेपछि पत्रकार महासंघका (बझाङ शाखा) अध्यक्षलाई बोलाएर कुरा गरेँ। उहाँले पनि कुरा गर्ने भन्नुभयो। तर ती भाइ (मण्डेल) सम्पर्कमा नै आएनन्। प्रहरी र पत्रकार महासंघले दबाब दिएर हो कि उनले फेसबूकमा मविरुद्ध लेखेको सामग्री भने हटाए। पछि अस्ती मेरै होटेल अगाडि हिँडिरहेको देखेपछि मैले बोलाएको हुँ। त्यतिबेला मेरा होटलका सञ्चालकसहित धेरै जनाको अगाडि मसँग हात पनि मिलाएर म समाचार स्टोरी बनाएर प्रकाशित गर्छु भनेका थिए। मसँग भेट भएर राम्ररी छुट्टिएर गएका थिए, फेरि फेसबूकमा मैले अपहरण गरेको भनेर लाइभ आएछन्। उनले यसअघि पनि विज्ञापन र समाचार स्टोरी प्रकाशित गरिदिन्छु भनेर अरु व्यक्तिबाट पनि पैसा लिएको कुरा यहाँ यसअघि पनि सार्वजनिक भएका थिए। एकजना कर्मचारीसँग पैसा मागेको विषयमा उनीविरुद्ध प्रहरीमा उजुरी पनि परेको घटना सार्वजनिक भएको थियो। ठेकेदार र अरु होटेल सञ्चालकले पनि आफूहरुसँग पैसा मागेको भनेर कुरा गरिरहेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।