काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
आज (मंगलबार) बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार मंगलबार राति देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।