काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) इप्पानको सातौं कार्यसमितिले मनोनयन गरेका सल्लाहकारहरुलाई बिहीबार प्रमाणपत्र वितरण गरिएको छ।
इप्पान अध्यक्ष गणेश कार्कीले निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यको नेतृत्वमा बनेको सल्लाहकार समितिलाई प्रमाणपत्र दिँदै इप्पानलाई आवश्यक मार्गदर्शन दिनका लागि आग्रह गरे।
कार्यक्रममा उपस्थित सल्लाहकारहरुले इप्पानको आगामी यात्रा कस्तो हुनुपर्छ भन्ने विषयमा आ-आफ्ना धारणा राखेका थिए। प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले सल्लाहकार समितिको नियमित बैठक बसेर इप्पानलाई अघि बढाउन आवश्यक सल्लाह सुझाव दिने बताए।
सल्लाहकार गुरुप्रसाद न्यौपानेले इप्पानको बजेट जुटाएर आफ्नै भवन बनाउनुपर्ने र द्वैमासिक रुपमा आफ्नै जर्नल पनि प्रकाशन गर्नुपर्ने बताए।
प्रतिनिधि सभाका सांसदसमेत रहेका इप्पान सल्लाहकार दीपक खड्काले असन्तुष्ट पक्षलाई पनि समेटेर इप्पानलाई एक ढिक्का बनाएर अघि बढ्न सुझाव दिए। सल्लाहकार इन्दिरा पन्तले इप्पानले उर्जा उत्पादनमा रहेका अवरोध हटाउन बहस पैरवीमा काम गर्नुपर्ने बताइन्।
जलविद्युत प्रवर्द्धकले एउटा आयोजना बनाउँदा ५ वटा विषयमा पीएचडी गरेसरहको अनुभव बटुल्ने उनको भनाइ थियो। सल्लाहकार वीरेन्द्रबहादुर न्यौपानेले संस्थालाई व्यवसायिक ढंगले अघि बढाउनुपर्ने सुझाव दिए।
उनले कार्बन ट्रेडका लागि वन मन्त्रालय र अन्तर्राष्ट्रिय समुदायसँग कुरा गर्नुपर्ने पनि बताए। सल्लाहकार पुष्पज्योति ढुंगानाले इप्पानले बिस्फोटक पदार्थको सहज आपूर्तिका लागि सबै निकायसँग छलफल गर्नुपर्ने बताए।
त्यस्तै प्रशारणलाइन मुनि पर्ने सबै जग्गाको मुआब्जा दिएर सरकारले नै प्रशारण लाइन विकास गर्न नसक्ने भन्दै बरु ती जग्गालाई बैंकमा धितो राख्न दिने व्यवस्था गर्नुपर्ने पनि उनको सुझाव थियो।
कार्यक्रममा प्रमुख सल्लाहकार आचार्यसहित सांसद दीपक खड्का, पूर्व सांसद डेढराज खड्का, पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई, ऊर्जा उद्यमीहरु गुरुप्रसाद न्यौपाने, वीरेन्द्र बहादुर न्यौपाने, कृष्ण आचार्य, केशवबहादुर रायमाझी, पुष्पज्योति ढुङ्गाना, जगत पोखरेल, इन्दिरा पन्त र अनुप आचार्यले सल्लाहकार मनोनयन गरिएको प्रमाणपत्र ग्रहण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।