काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ।इप्पानको विधानमा आवश्यकता अनुसार विभिन्न समितिहरु गठन गर्न सक्ने व्यवस्था भए बमोजिम विज्ञ सल्लाहकारहरुको समिति गठन गरिएको हो।
ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ लगायतका व्यक्तिहरुलाई समितिमा मनोनयन गरिएको छ। जसमा पूर्व अर्थमन्त्री एवं जलस्रोत सचिव डा शंकर कोइराला, इप्पानका पूर्वअध्यक्षहरु डा सुवर्णदास श्रेष्ठ, डा सन्दीप शाह, जलविद्युत् उद्यमी डा आत्माराम घिमिरे, जलविद्युत् विज्ञ डा कृष्ण प्रसाद दुलाल, ई ज्ञानेन्द्रलाल प्रधान, पूर्व कानुन सचिव उदय नेपाली श्रेष्ठ, भूराजनीतिक विश्लेसक एवं जलविद्युत् उद्यमी अरुण कुमार सुवेदी, पूर्व जलस्रोत राज्यमन्त्री एवं उद्यमी हरिप्रसाद पाण्डे, उद्यमी मोतिलाल दुगड, पूर्व उर्जासचिव सुमन शर्मा, उद्योग वाणिज्य महासंघका पूर्वअध्यहरु प्रदीप कुमार श्रेष्ठ, कुशकुमार जोशी र जलविद्युत् अभियन्ता कृष्ण प्रसाद भण्डारीलाई मनोनयन गरिएको छ।
इप्पानको विधानमा भएको व्यवस्था बमोजिम यसअघि २१ सदस्यीय सल्लाहकार समिति र अहिले विज्ञ सल्लाहकार समिति गठन गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए।
असार १ गते बसेको कार्यसमितिको १७१ औं बैठकले सल्लाहकार र विज्ञ सल्लाहकार मनोनयन गर्ने सम्बन्धी अख्तियारी अध्यक्ष कार्कीलाई दिएको थियो। सोही निर्णयका आधारमा अध्यक्ष कार्कीले विज्ञ सल्लाहकारमा उनीहरुलाई मनोनयन गरेका हुन्। कार्यमसितिले विज्ञ सल्लाहकारहरुबाट आवश्यक परामर्श लिन सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।