काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरेको छ। सर्वोच्चको आदेश पालना गर्दै ककनी गाउँपालिकाले काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा जाने टिप्परसँग प्रवेश शुल्क नउठाउने निर्णय गरेको हो।
'ककनी गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारी साधनबाट प्रवेश शुल्क लिन गरेको निर्णय विरूद्ध सम्मानित सर्वोच्च अदालतले तत्कालका लागि शुल्क नलिन अन्तरिम आदेश जारी भएको भन्ने बेहोरा जानकारी हुन आएकोले मुद्दाको अन्तिम किनारा नभएसम् यस गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने बेहोरा सबैमा जानकारी गराइन्छ,' गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
फोहोर बोकेका ट्रकबाट प्रवेश शुल्क उठाउने निर्णय विरूद्ध ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संघीय मामिला, बन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाई हालिएको रिटमा न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश जारी गरेको थियो।
स्थानीयबासीले साउन १ गतेबाट चरणबद्ध आन्दोलन घोषणा गर्दै काठमाडौंको फोहोर विसर्जनमा अवरोध गरेका छन्। त्यसका कारण बिहीबारबाट काठमाडौंको फोहोर उठेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।