काठमाडौं– १८ वर्ष पहिले बनेको चलचित्र 'कर्तव्य'मा रहेको गीत 'बादल वर्षा बिजुली' पछिल्लो समय निकै चर्चित बन्यो।
यो गीत 'भाइरल' भएसँगै युट्युव लगायतका विभिन्न प्लाटफर्ममा करोडौँ पटक हेरिएपछि यसका सर्जकहरूले नयाँ भर्सनमा सार्वजनिक गरेका छन्।
काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीतलाई पुनः रेकर्ड गरी बनाइएको म्यूजिक भिडिओ सोमबार सार्वजनिक गरिएको छ। गीतको
एरेन्ज पनि पुनः गरिएको छ। पुरानो गीतमा फणिन्द्र राईले एरेन्ज गरेका थिए भने नयाँमा उदयराज पौडेलले गरेका छन्। गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन्। सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका छन्। विजु पार्की र कविता नेपालीले अभिनय गरेका छन्।
कार्यक्रममा बोल्दै गायक कार्कीले वर्षौंपछि गीतलाई ब्युँताएकोमा टिकटक प्रयोगकर्तालाई धन्यवाद दिए। उनले १८ वर्ष पहिले नै आफूले गाएको गीत अहिलेको पुस्तालाई समेत मन परेकोमा खुशी भएको बताए।
गीतकार थापाले यो गीत लेख्दा लागेको समय र परिवेशको चर्चा गरे। गायिका शाक्यले १८ बर्ष पहिले पनि चर्चित बनेर धेरै स्टेजमा यो गीत गाएको सम्झना गर्दै पुनः चर्चामा आउँदा सपना जस्तो लागिरहेको बताइन्।
निर्देशक आचार्यले 'कर्तव्य' चलचित्रको समयमा पनि आफुले यो गीतको प्रचार-प्रसार गरेको सम्झना गर्दै नयाँ भर्सनमा आफुले निर्देशन गर्न पाउँदा खुशी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।