कैलालीको टीकापुर नगरपालिकाको कार्यालय
धनगढी– कैलाली जिल्लाका ४ पालिकामा आज (मंगलबार) सार्वजनिक बिदा दिइएको छ।
कमैया मुक्ति दिवसको अवसरमा ४ पालिकाले मंगलबार स्थानीय बिदा दिएका हुन्। कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको हो।
पालिकासहित स्वास्थ्य संस्था, विद्यालयमा बिदा गरिएको पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।
नेपालमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो। कमैया बस्नेमा थारु समुदायका व्यक्ति थिए। मुक्त कमैयाहरू कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ लगायतका जिल्लामा रहेका छन्।
सरकारले कमैया मुक्तिको घोषणा गरी उनीहरू सबैको पुन:स्थापना गर्ने र जीविकोपार्जनमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको थियो। तर, कमैया मुक्ति घोषणाको २ दशक नाघेँ पनि अझै सबैको पुन:स्थापना भइसकेको छैन। पुन:स्थापना हुन नसकेका, छुट मुक्त कमैया कठिन जीवनयापन गर्न बाध्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।