काठमाडौं- भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा हेर्न गठन भएको विशेष अदालतले २१ वर्षपछि आफ्नो नियमावली पाउने निश्चित भएको छ। विशेष अदालत ऐनअनुसार यी मुद्दा हेर्न अदालत गठन भए पनि नियमावली निर्माण भएको थिएन। नियमावली नै नभएर काम गर्न समस्या भएपछि सर्वोच्च अदालतको फुलकोर्टले नियमावलीको मस्यौदा गरेको थियो।
वार्षिक समीक्षा सार्वजनिक गर्ने क्रममा विशेषका रजिष्ट्रार अशोककुमार क्षेत्रीले नियमावलीको तर्जुमा अन्तिम चरणमा पुगेको र केही दिनमा राजपत्रमा प्रकाशित हुने बताए।
२१ वर्षको प्रतीक्षापछि अब निमायवली आउन लागेको र नियमावली आएपछि विशेषले विशेषज्ञको सेवा लिनेदेखि धेरै काम गर्न सहज हुने उनले बताए।
विशेषले उक्त नियमावलीका लागि धेरै वर्षदेखि लबिङ गरिरहेको थियो। नियमावली जारी भएपछि अदालतले तय गर्ने कार्यविधि र काममा पनि एकरुपता र सहज हुने देखिन्छ।
अध्यक्षको आग्रह- समाचार लेखौं तर विचार नलेखौं
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले अदालतभित्र हुने मिडिया ट्रायलको विषयलाई ख्याल गरिदिन आग्रह गरे। उनले अदालतमा विचाराधीन विषयमा लेख्दा ख्याल गरिदिन आग्रह गरे। विषयलाई टुङ्गोमै पुग्ने गरी समाचारमा भ्युज नमिसाइदिन उनले आग्रह गरे।
‘अदालतको समाचार लेखौं। अदालत भित्रको विकृति र अन्य कुराहरु पनि लेखौं,’ उनले भने, ‘तर न्युजभित्र भ्युज चाहिँ नलेखौं। समाचार र विचार अलग हुनुपर्छ।’
उनले अदालतले न्याय सम्पादनका क्रममा गरेका कमी कमजोरीहरु औंल्याउन सकिने भन्दै यसमा तटस्थ भएर टिप्पणी गर्न आग्रह गरे। अदालतका भौतिक पूर्वाधारका अवस्थाको बारेमा पनि मिडिया क्षेत्रले समेट्नुपर्ने पौडेलले बताए ।
विशेष अदालतलाई जिल्ला बाहिर पनि पुर्याउन आग्रह
रजिष्ट्रार क्षेत्रीले विशेष अदालत काठमाडौंमा मात्र हुँदा समस्या भएको भन्दै सेवाग्राहीले अन्य जिल्लामा पनि यसलाई विस्तारको माग गरेको जानकारी गराए। भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा सबै मुद्दामा तारेख धाउनेदेखि मुद्दा फैसला नहुँदासम्म काठमाडौं आइरहनुपर्ने कुराले समस्या भएको सेवाग्राहीको गुनासो आएको उनले बताए। पत्रकार सम्मेलनमा विशेष अदालत केन्द्रमा मात्रै नभई जिल्ला बाहिर पनि राख्नुपर्ने आफूलाई पनि लागेको उनले बताए।
उनले मिडिया ट्रायलका कारणले पनि अदालतको न्याय सम्पादनमा समस्या हुने गरेको बताए । ‘विचाराधीन मुद्दामा मिडियाले कलम चलाउँदा न्याय प्रभावित त हुँदैन,’ उनले भने, ‘तर सही र सत्य सूचना प्रभाव गरिदिँदा मिडियाकै निष्पक्षता बलियो हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।