काठमाडौं- संखुवासभामा बाढीबाट बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ। बाढीमा परेर बेपत्ता भएको एक महिनापछि एउटा शव फेला परेको हो।
आइतबार बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए। बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए।
बाढी-पहिरोमा परेका अन्य १८ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो। पहिरोमा पुरिएका वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र तालिमप्राप्त कुकुर लगाएर खोजी गर्दासमेत शव फेला पार्ने सकेको छैन।
बाढी-पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन्। बाढी-पहिरोबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घरमा पूर्ण क्षति पुगेको छ। बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढीले तीन वटा पक्की पुलमा क्षति पुर्याएको छ। बाढीका कारण करोडौँका भौतिक संरचनामा क्षति पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।